पर्सा १३ कार्तिक जनताका समस्या प्रत्यक्ष रूपमा सुन्ने, आवश्यकताको पहिचान गर्ने तथा समाधानका लागि पहल गर्ने उद्देश्यले पर्साको धोबिनी गाउँपालिकामा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ।

माननीय टेकबहादुर शाक्यको प्रमुख आतिथ्यमा धोबिनी गाउँपालिकाको वडा नं. १ र २ मा आयोजित उक्त कार्यक्रममा स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता, विकासका अपेक्षा तथा गाउँपालिकासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो।
पहिलो पटक माननीय शाक्यको उपस्थितिमा आयोजित यस जनसंवाद कार्यक्रममा स्थानीयवासीहरूले आफ्ना गुनासा तथा समस्याहरू खुलस्त रूपमा राख्ने अवसर प्राप्त गरेका थिए। कार्यक्रममा स्थानीयले विकास निर्माण, जनसरोकारका विषय तथा दैनिक जीवनसँग जोडिएका विभिन्न समस्याबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।

जनताका कुरा सुन्नु, वास्तविक समस्या बुझ्नु र समाधानका लागि आवश्यक पहल गर्नु नै जनसंवादको मुख्य उद्देश्य रहेको बताइएको छ। जनताको आवाजलाई प्राथमिकतामा राख्दै समस्याको पहिचान र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय तथा पहल गर्ने विषयमा समेत जोड दिइएको थियो।
यस्ता जनसंवाद कार्यक्रमले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई अझ आत्मीय, पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। जनताका आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्दै विकासका कामलाई प्रभावकारी बनाउन प्रत्यक्ष संवाद आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

“विकासको सुरुवात जनताको आवाज सुन्ने संस्कारबाट हुन्छ। जनताको समस्या नै हाम्रो प्राथमिकता र समाधान नै हाम्रो साझा लक्ष्य बन्नुपर्छ।” भन्ने सन्देशसहित सम्पन्न जनसंवाद कार्यक्रमले स्थानीयवासीमा सकारात्मक अपेक्षा जगाएको छ।
जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या समाधानका लागि पहल गर्ने अभियानले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गरिएको छ।