पर्सा १२ कार्तिक पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। स्थानीय हिन्दु धर्मावलम्बीलाई छठ पर्व मनाउन सहजता प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले छठघाट निर्माण गर्न लागेको हो।

बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट निर्माण कार्यको शिलान्यास गरेका हुन्।

गाउँपालिकाको आफ्नै १० लाख रुपैयाँको बजेटबाट निर्माण हुन लागेको उक्त छठघाटले स्थानीयवासीलाई छठ पर्वका अवसरमा पूजा–आराधना गर्न सहज हुने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले छठ पर्वले धार्मिक आस्था, संस्कृति र सामाजिक एकतालाई बलियो बनाउने बताए। उनले स्थानीयवासीलाई व्यवस्थित र सहज रूपमा छठ पर्व मनाउन आवश्यक पूर्वाधार निर्माणलाई गाउँपालिकाले प्राथमिकता दिएको उल्लेख गरे।

छठ पर्वका अवसरमा व्रतालु तथा श्रद्धालु भक्तजनलाई सुरक्षित र व्यवस्थित रूपमा पूजा गर्न सहज होस् भन्ने उद्देश्यले छठघाट निर्माण गर्न लागिएको अध्यक्ष यादवको भनाइ थियो।

छठघाट शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मी साह तेलीलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

छठघाट निर्माण सम्पन्न भएपछि छोट्की पिडारीका स्थानीयवासीलाई छठ पर्व मनाउन थप सहज हुने विश्वास गरिएको छ।