पर्सा, ९ कार्तिक । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएको ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण पर्सा जिल्लाबाट सुरु भएको छ।

विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्ने, नेपालको संविधान तथा कानुनी व्यवस्थाबारे जानकारी गराउने र उनीहरूलाई आफ्नो अधिकार तथा कर्तव्यप्रति सचेत बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको अभियानको चौथो संस्करणअन्तर्गत कार्तिक ९ गतेदेखि पर्सामा कार्यक्रम सुरु गरिएको हो।

अभियानको पहिलो दिन टिम पर्साले जिल्लाका चारवटा विद्यालयमा ६ वटा कानुनी सचेतनामूलक सत्र सञ्चालन गरेको छ। साउथजोन सेकेन्डरी स्कुलमा तीनवटा सत्र, गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा एउटा, हिमालयन पिरामिड सेकेन्डरी स्कुलमा एउटा र मेरिगोल्ड सेकेन्डरी स्कुलमा एउटा सत्र सञ्चालन गरिएको थियो।

पहिलो दिनको कार्यक्रमबाट २५० भन्दा बढी विद्यार्थीलाई कानुनी सचेतना प्रदान गरिएको टिम पर्साका संयोजक रवि मिश्रले जानकारी दिएका छन्।

कार्यक्रममा टिम पर्साका स्रोत व्यक्तिहरू रवि मिश्र, किरण गुप्ता, आदर्श गुप्ता, अलोक शर्मा, जय गुप्ता, सुरज शाह, रोशन यादव र प्रियंका शाहले सहजीकरण गरेका थिए।

अभियानको मुख्य उद्देश्य मधेश प्रदेशका विद्यार्थीहरूलाई कानुनी रूपमा सचेत बनाउँदै नेपालको संविधान, मौलिक हक, कानुनी प्रावधान, नागरिकका अधिकार तथा कर्तव्यबारे जानकारी प्रदान गर्नु रहेको आयोजकले जनाएको छ। यसका साथै विद्यार्थीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, संसदीय अभ्यास तथा लोकतान्त्रिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्नु पनि अभियानको प्रमुख लक्ष्य रहेको छ।

कानुनी शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीहरूलाई व्यवहारिक रूपमा कानुन बुझाउने र सचेत, जिम्मेवार तथा सक्षम नागरिक निर्माण गर्ने उद्देश्यका साथ अभियान सञ्चालन भइरहेको छ।

पहिलो दिन विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएपछि टिम पर्साले आगामी दिनमा पनि जिल्लाका विभिन्न विद्यालयहरूमा अभियानलाई निरन्तरता दिँदै कानुनी सचेतना विस्तार गर्ने लक्ष्य लिएको छ।

‘लिगल भ्वाइस क्याम्पेन ४.०’ मार्फत विद्यार्थीहरूलाई कानुनको आधारभूत ज्ञान प्रदान गर्नुका साथै समाजमा न्याय, समानता र लोकतान्त्रिक मूल्यप्रति सकारात्मक सोच विकास गराउने अपेक्षा गरिएको छ।