पर्सा १० कार्तिक छिपहरमाई गाउँपालिकामा यसपटक सुशासन, पारदर्शिता र योग्यतामा आधारित नेतृत्व तथा सेवा प्रवाहको विषयलाई प्राथमिकतामा राख्दै परिवर्तनको आवाज उठ्न थालेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, पर्सा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति र छिपहरमाई गाउँपालिकाका अध्यक्ष पदको उमेदवार जितेन्द्र मिश्रले परिवारवाद, नातावाद र कृपावादको अन्त्य गर्दै योग्यता, क्षमता र विधिको शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

मिश्रले अब गाउँपालिकामा अवसर नातागोताका आधारमा नभई योग्यता र क्षमताका आधारमा सुनिश्चित हुनुपर्ने बताएका छन्। त्यस्तै, निर्णय व्यक्तिगत पहुँच वा प्रभावका आधारमा नभई विधि, प्रक्रिया र पारदर्शिताका आधारमा हुनुपर्ने उनको धारणा छ।

उनले भनेका छन्, “व्यक्तिवाद होइन, विधिको शासन; नातावाद होइन, योग्यताको सम्मान; कृपावाद होइन, समान अवसर र भ्रष्टाचार होइन, सुशासन।”

छिपहरमाईका नागरिकको अधिकार, सम्मान र समान अवसरलाई केन्द्रमा राख्दै स्थानीय तहमा पारदर्शी, जवाफदेही र जनमुखी शासन व्यवस्था निर्माण गर्न आफू प्रतिबद्ध रहेको मिश्रले बताएका छन्।

उनका अनुसार जनप्रतिनिधि तथा नेतृत्वको मुख्य जिम्मेवारी व्यक्तिगत स्वार्थ पूरा गर्नु नभई जनताको आवाज सुन्ने, जनताको अधिकार सुनिश्चित गर्ने र जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने हुनुपर्छ।

छिपहरमाईमा बढ्दो परिवर्तनको चाहनाबीच मिश्रको यो अभिव्यक्तिलाई सुशासन, पारदर्शिता र समान अवसरको पक्षमा उठाइएको राजनीतिक तथा सामाजिक प्रतिबद्धताका रूपमा हेरिएको छ।

“जनताको आवाज, जनताको अधिकार र जनताको सेवाका लागि प्रतिबद्धता” भन्ने मूल भावसहित छिपहरमाईमा नयाँ राजनीतिक संस्कार र उत्तरदायी नेतृत्वको बहस अघि बढाउने उनको संकल्प छ।