पर्सा १० कार्तिक धोबीनी गाउँपालिका–३ स्थित गुलरिया फिल्डलाई व्यवस्थित, स्वच्छ तथा बहुउद्देश्यीय रूपमा विकास गर्ने पहलले गति लिन थालेको छ।
धोबीनी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सुदिल पटेलको पहलमा गुलरिया फिल्डको आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका लागि कार्ययोजना तयारी गर्ने क्रममा गृहमन्त्री सुधन गुरुङका सल्लाहकार तथा GenZ नेता मदन खत्रीले फिल्डको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा फिल्डको वर्तमान अवस्था, आवश्यक व्यवस्थापन, खेलकुदका लागि आवश्यक पूर्वाधार तथा स्थानीय युवाहरूका लागि उपयोगी हुने सम्भावनाबारे स्थलगत रूपमा जानकारी लिइएको बताइएको छ।
गुलरिया फिल्डलाई व्यवस्थित रूपमा विकास गर्न सके स्थानीय खेलकुदको प्रवर्द्धनसँगै युवाहरूको प्रतिभा प्रस्फुटन, सामाजिक गतिविधि तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालनका लागि समेत महत्वपूर्ण स्थानका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमा खेलकुद र युवामैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित अघि बढाइएको यस पहलले गुलरिया फिल्डको भविष्यलाई थप व्यवस्थित र सम्भावनायुक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
“विकासका कुरा भाषणमा मात्र होइन, व्यवहारमा देखिनुपर्छ” भन्ने मान्यतासहित गुलरिया फिल्डको व्यवस्थित विकासका लागि स्थानीय समुदाय, युवा तथा सरोकारवाला सबैको साथ, सहयोग र सकारात्मक पहल आवश्यक रहेको बताइएको छ।
गुलरिया फिल्डको विकास र व्यवस्थापनका लागि सुरु भएको यो पहलले आगामी दिनमा ठोस रूप लिने अपेक्षा गरिएको छ।