माघ २ रौतहट___  रौतहट जिल्लामा आह्वान गरिएका निर्वाचन प्रहरीका लागि ६७३६ जनाले आवेदन फारम दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, अगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सुरक्षार्थ प्रयोजनमा खटिन ३८५१ जना निर्वाचन प्रहरीको लागि आह्वान गरिएकोमा ६७३६ जनाले आवेदन फारम दर्ता गराएका हुन् ।

नेपाल प्रहरीतर्फ ३४६६ जना र सशस्त्र प्रहरीतर्फ ३८५ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा फारम भर्ने अन्तिम दिन बिहीबार सम्ममा नेपाल प्रहरी तर्फ ६२८४ र सशस्त्र प्रहरी तर्फ ४५२ जनाले आवेदन फारम दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए । उक्त आवेदन पत्र दर्ता गराउनेहरुमा ९६३ जना महिलाको संख्या रहेको जानकारी दिदै डिएसपी वस्यालले सीट संख्या भन्दा निकै बढि आवेदन फारम दर्ता गराउनेहरुलाई ५ गते सम्पर्क मिति तोकिएको तथा उनीहरुको छनौट प्रक्रिया आरम्भ हुने बताए ।