पर्सा २६ कार्तिक । पर्साको जगरनाथपुर गाउँपालिका–१, पिपरडाढीका आगलागी पीडित परिवारलाई बृजेश्वर प्रसाद चौधरीको विशेष पहलमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।

यसै साता दीपावलीको राति विद्युत् तारमा सर्ट भएर अचानक आगलागी हुँदा स्थानीय रविन्द्र साह गोलदारको फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा तथा अन्य सरसामान गरी करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

आगलागीबाट प्रभावित परिवारको अवस्थालाई मध्यनजर गर्दै चौधरीको पहलमा नाम सार्वजनिक नगर्ने सर्तमा एक उद्योगी व्यवसायीले करिब १६ हजार ५०० रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएका हुन्।

पीडित परिवारलाई ३ बोरा चामल, १ बोरा चिउरा, ४ प्याकेट आँटा, १ बोरा आलु, १० किलो प्याज, रिफाइन तेल, साबुन, सर्फ, विभिन्न मसलाहरू, दाललगायतका खाद्यान्न सामग्री सहयोग गरिएको छ। साथै, परिवारमा छठ व्रत गर्न लागेकी एक महिला व्रतालुलाई साडी, साया र ब्लाउजसहितका लत्ताकपडा पनि प्रदान गरिएको छ।

सहयोग प्राप्त भएपछि पीडित परिवारले सहयोगी उद्योगी व्यवसायी तथा पहलकर्ता चौधरीप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, विपद्का बेला सहयोग गर्ने आश्वासन दिएर फोटो खिचाउन मात्र आउनेहरूप्रति उनीहरूले गुनासोसमेत पोखेका छन्।

पीडित परिवारका अनुसार आगलागीपछि आफूहरूको अवस्था बुझ्न धेरै व्यक्ति आए पनि आश्वासनबाहेक ठोस सहयोग प्राप्त हुन सकेको छैन। सहयोग गर्ने प्रतिबद्धता जनाएकाहरूबाट अहिलेसम्म सहयोग नपाउँदा परिवार थप समस्यामा परेको उनीहरूको भनाइ छ।

आगलागीबाट घरबारविहीन बनेको उक्त परिवारलाई दैनिक जीवनयापन गर्नसमेत कठिनाइ भइरहेको छ। हाल प्राप्त सहयोगले केही राहत मिलेको भए पनि घर पुनर्निर्माण तथा आवश्यक सरसामानको व्यवस्थापनका लागि थप सहयोगको आवश्यकता रहेको छ।

यस विपद्को घडीमा पीडित परिवारलाई सहयोग गर्न स्थानीयवासी, संघसंस्था, उद्योगी व्यवसायी तथा इच्छुक दाताहरूलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरिएको छ। सानो सहयोगले पनि विपद्मा परेका परिवारको जीवनमा ठूलो राहत पुर्‍याउन सक्छ।