पर्सा ६ मंसिर पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकीमा प्रहरी वरिष्ठ हवल्दारमाथि भएको कुटपिट र नियन्त्रणमा लिइएका मोटरसाइकल छाड्ने क्रममा रकम असुली भएको आरोपबारे जिल्ला प्रहरी कार्यालय पर्साले छानबिन सुरु गरेको छ।
घटनासँग जोडिएका प्रहरी चौकी टिहुकीका सहायक प्रहरी निरीक्षक (असई) भोला चौधरीलाई शनिबार दिउँसो करिब ४ बजे जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ। प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्र यादवमाथि ड्युटीका क्रममा भारतीय नागरिकहरूको समूहले हातपात गरेको तथा उनको मोबाइल फुटाइदिएको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरीले अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाबारे थप जानकारी लिन र सोधपुछ गर्न असई चौधरीलाई जिल्ला बोलाइएको पुष्टि गरेका छन्।
असई चौधरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे टिहुकीस्थित गुडु नामका व्यक्तिको मदिरा पसलमा आएका चार जना भारतीय नागरिकले मदिरा सेवन गरेपछि आपसमा विवाद गरेका थिए। पसल सञ्चालकले प्रहरीलाई खबर गरेपछि टोली घटनास्थल पुगेको थियो। प्रहरी पुगेपछि ती व्यक्तिहरू मोटरसाइकल छाडेर भागेका थिए।

त्यसै दिन राति करिब साढे ८ बजे मदिरा सेवन गरी विवाद गरेका व्यक्तिहरू १४–१५ जनाको समूह बनाएर पुनः पसलमा पुगेपछि सञ्चालकसँग फेरि झगडा भएको चौधरीले बताएका छन्। घटनाबारे सूचना पाएर प्रहरी टोली दोस्रोपटक त्यहाँ पुगेको थियो।
विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले समूहका व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा लाठीचार्ज गर्नुपरेको र त्यसपछि उनीहरूले प्रहरीको लाठी खोसेर वरिष्ठ हवल्दार यादवमाथि कुटपिट तथा लछारपछार गरेको चौधरीको भनाइ छ। घटनास्थलमा प्रहरीका दुई जना मात्रै रहेको र अर्को पक्षको समूह ठूलो भएकाले प्रहरीमाथि हातपात भएको उनले दाबी गरेका छन्।

उक्त घटनामा वरिष्ठ हवल्दार यादवको हातमा चोट लागेको र मोबाइलसमेत फुटेको बताइएको छ। यद्यपि, बाहिरबाट प्रस्ट देखिने चोट नदेखिएको असई चौधरीले बताएका छन्।
घटनापछि प्रहरीले चारवटा मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखेको थियो। तीमध्ये रातो–कालो अपाचे (BR22 BK6754), कालो बुलेट (BR01 HL4681), सेतो अपाचे (BR05 4782) र रातो होन्डा साइन एसपी (BR22 AW3620) रहेका थिए।

तर, नियन्त्रणमा लिइएका मोटरसाइकल फिर्ता गर्ने क्रममा २० हजार भारतीय रुपैयाँ अर्थात् करिब ३२ हजार नेपाली रुपैयाँ असुलिएको आरोप पनि सार्वजनिक भएको छ। प्रहरीमाथि आक्रमण र मोबाइल फुटाएको घटनामा मुद्दा चलाउने तथा मोटरसाइकल भन्सार पठाइदिने भन्दै डर देखाएर रकम लिइएको आरोप लगाइएको छ।
यस विषयमा असई चौधरीले भने गाउँघरको अवस्थालाई मध्यनजर गर्दै मोटरसाइकलका कागजात जाँच गरेपछि सवारी साधन छाडिएको दाबी गरेका छन्। आफूले कुनै रकम नलिएको बताउँदै उनले आफ्नो नाममा अरू कसैले रकम लिएको भए त्यसबारे जानकारी नभएको प्रतिक्रिया दिएका थिए।

एकातिर ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि समूहगत आक्रमण भएको घटना छ भने अर्कोतर्फ प्रहरी नियन्त्रणमा रहेका सवारी साधन फिर्ता गर्दा रकम असुलिएको आरोपले प्रहरी प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाएको छ।
जिल्ला प्रहरी कार्यालयले असई चौधरीलाई बोलाएर सोधपुछ सुरु गरेपछि अबको अनुसन्धानबाट प्रहरीमाथि भएको आक्रमणको वास्तविकता, मोटरसाइकल छाड्दा अपनाइएको प्रक्रिया र रकम असुलीको आरोपमा कसको संलग्नता थियो भन्ने विषय खुल्ने अपेक्षा गरिएको छ। आरोप पुष्टि भए सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्ने मागसमेत उठेको छ।