करण कुमार मिश्र

पौष २८ रौतहट ___रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले करार तथा ज्यालादारी कर्मचारीहरुको तलवभत्ता चाडैं निकासा गर्ने बताएका छन् । बिगतका प्रमुख प्रशासकीय अधिकृतहरुले पटक पटक कार्यपालिका बैठक बसाएर पनि कर्मचारीहरुको तलबभत्ता निकासा गर्दा आफूहरु अख्तियारमा पर्ने डर लगायत विभिन्न बहानामा बनाइ पन्छिएको कारण लामो समयदेखि कर्मचारीहरुले तलबभत्ता पाउनबाट बन्चित भएको बताए । आइतबार नगरपालिका कार्यालयमै सञ्चारकर्मिहरुसंग कुरा गर्दै मेयर जयसवालले तीन पटक कार्यपालिका बैठक बसी आज नगरमा कार्यरत स्थाई, अस्थायी, करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको अहिलेसम्मको तलवभत्ता दुई हप्ताभित्रमा भुक्तानी गर्ने गरि कार्यपालिका बैठक बाट निर्णय भएको बताए ।

प्रशासकीय अधिकृत गोपाल नेपालीको सरुवापछि कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरी आएपछि सर्वसाधारण स्थानीय लगायत जनप्रतिनिधिहरुले वहाँको कार्यबाट निकै खुशी भएको मेयर जयसवालले बताए । नगरपालिका भरी अहिलेसम्म ज्यालादारी वा करारमा काम गरेका कर्मचारीहरुलाई तलव भुक्तान गरी अबदेखि दरबन्दी बाहेकका अस्थाइ, करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई हटाउने योजनाका साथ आफू उनीहरूको तलब निकासा गर्न रेडबुकमा ५ करोड रकम छुट्याएको उनले बताए।

तलव भुक्तान गरेपछि दरबन्दी बाहेक अस्थाइ, करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने केन्द्रीय सरकारको परिपत्र अनुसार आफू पनि पालिकामा कार्यरत अस्थाइ र करारका सबै कर्मचारीको नियुक्ति बदर गर्न मेयर अजय प्रकाशले प्रतिबद्धता समेत जनाएका छन् ।त्यस्तै असोज १८ गते भएको भारी वर्षासँगै खसेको चट्याङ् लागेर मृत्यु भएका हथियाहिका दुई किशोरको परिवारलाई एक लाख पचास हजार सहयोग गरेको बताए । चट्याङ बाट ज्यान घुमाउने परिवार लाई अहिलेसम्म कसैले पनि सहयोग नगरेको बताए। उनले हालै कटहरिया नगरपालिकाभित्र रहेको ज्योति डिस्टिलरी उधोग्मा बोइलर पड्किदा एक जनाको घटना स्थलमै दु:खद मृत्यु भएको हुदा पीडित परिवार लाई पनि एक लाख पचास हजार राहत स्वरुप सहयोग गर्ने प्रतिबद्धता जनाए ।