पौष २ जनकपुरधाम ___ मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले पौष १ र २ गते जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालयमा कर्मचारीको उपस्थिति र पोषाकको छड्के निरीक्षण गरेको छ । निरीक्षणबाट पौष  १ गते ४८ जना र पौष २ गते २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका हुन् । कारबाहीमा परेका कार्यालयहरुमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा १ जना, कृषि ज्ञान केन्द्रमा १ जना, प्रदेश वन निर्देशनालयमा १ जना, खेलकुद तथा समाज कल्याण मन्त्रालयमा ९ जना, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ४ जना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३ जना, शिक्षा तथा संस्कृति मनत्रालयमा ५ जना, गृह सञ्चार तथा कानुन मन्त्रालयमा १ जना, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयमा ८ जना, वन तथा वतावरण मन्त्रालयमा ६ जना भौतिक पूर्वाधार विकास मन्त्रालयमा ५ जना, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयमा ३ जना, डिभिजन वन कार्यालयमा २ जना, पूर्वाधार विकास कार्यालयमा ८ जना, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रमा २ जना, प्रदेश लेखा नियन्त्रक कार्यालयमा ४ जना, जलस्रोत तथा सिँचाई विकास डिभिजनमा ८ जना कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेकामध्ये पुरुष कर्मचारी ५५ जना रहेका छन् भने महिला कर्मचारी १७ जना रहेका छन् । कारबाहीमा उपसचिवसरहका २ जना, शाखा अधिकृत सरहका ४१ जना, नायब सुब्बा सरहका १६ जना, खरिदार सरहका ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना रहेका छन् । कारबाहीमा परेकामध्ये पूर्व स्वीकृति बेगर अनुपस्थित ३४ जना रहेका छन् जसमध्ये पुरुष २२ जना र महिला १२ जना रहेका छन् । यसैगरी तोकिएको पोषाक नलगाएको ३८ जना भेटिएका छन् जसमध्ये पुरुष ३३ जना र महिला ५ जना रहेका छन् । २ जना कर्मचारी कार्यालयमा उपस्थित भएको तर हाजिर नगरेको र तोकिएको पोषाक नलगाएको भेटिएका थिए ।

छड्के निरीक्षण गरिएको मध्ये पशु सेवा तालिम केन्द्रका कर्मचारी रुजु हाजिर र तोकिएको पोषाकमा उपस्थित थिए । पूर्वस्वीकृति बेगर अनुपस्थित भएका र तोकिएको पोषाक नलगाएका कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी सो जानकारी दिन मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयबाट सम्बन्धित निकायमा कर्मचारीको विवरण सहित पत्राचार गरिएको छ । निरीक्षणलाई निरन्तरता दिई मधेश प्रदेशका बाँकी ७ वटा जिल्लामा समेत निरीक्षण गर्न टोली खटाईनेछ । साथै हाजिरी र पोषाक बाहेक सेवा प्रवाह र विकास निर्माण कार्यको समेत निरीक्षण र अनुगमन गरिने मधेश प्रदेश सरकारका अर्थ मन्त्रि भरत यादवले सामाजिक संजाल मार्फत जानकारी दिनु भएको छ
।