पर्सा ७ कार्तिक पर्साको छिपहरमाई गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गर्दै पूर्व गाविस अध्यक्षसहित सयौं जना अगुवा नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
छिपहरमाई गाउँपालिकाका पूर्व गाविस अध्यक्ष गौरीशंकर प्रसाद साह कानु तथा छिपहरमाई गाउँपालिकाका प्रमुख पदका प्रत्याशी सन्दीप शाह कानुसहित गाउँपालिकाअन्तर्गतका अगुवा नेता तथा कार्यकर्ताहरूले विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्।

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित विशेष कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशीहरूलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूले नेपाली कम्युनिष्ट पार्टीको समाजवादी विचार, राष्ट्रिय हित र जनताको पक्षमा अघि बढ्ने अभियानमा सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टीमा विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरू प्रवेश गर्ने क्रम पछिल्लो समय बढ्दै गएको पार्टीले जनाएको छ।
छिपहरमाईबाट भएको यो सामूहिक पार्टी प्रवेशले पर्सा जिल्लामा नेपाली कम्युनिष्ट पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।