पर्सा, ३ कार्तिक पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले विजयादशमीको अवसरमा जिल्लाका विभिन्न गाउँबस्तीमा पुगेर स्थानीयवासी, समाजका अगुवा, शुभचिन्तक तथा समर्थकहरूसँग भेटघाट र शुभकामना आदानप्रदान गरेका छन्।

विजयादशमीको सुखद अवसरमा सांसद शाक्यले पर्सा जिल्लाका विभिन्न स्थानमा पुगेर स्थानीयवासीसँग सुखदुःख साटासाट गर्नुका साथै उनीहरूका सुझाव, गुनासा तथा अपेक्षाबारे जानकारी लिएका थिए। भेटघाटका क्रममा स्थानीयवासीले आफ्ना क्षेत्रका समस्या, विकास निर्माणका आवश्यकता तथा जनजीविकासँग जोडिएका विषयमा सुझाव प्रस्तुत गरेका थिए।

सांसद शाक्यले स्थानीयवासीबाट प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक सुन्ने, मनन गर्ने तथा जनताका आवश्यकता र अपेक्षालाई बुझ्ने अवसरका रूपमा भेटघाटलाई लिएको बताइएको छ।
यसै क्रममा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमसमेत आयोजना गरिएको थियो। ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्दै उनीहरूको अनुभव, योगदान र समाजप्रतिको भूमिकाको कदर गरिएको थियो।

विजयादशमीजस्तो सांस्कृतिक तथा पारिवारिक महत्व बोकेको पर्वका अवसरमा गरिएको यस प्रकारको भेटघाटले जनप्रतिनिधि र स्थानीयवासीबीच आपसी सम्बन्ध, सद्भाव तथा संवादलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।