पर्सा, ५ कार्तिक पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले रास्वपाको अनलाइन प्रणालीमार्फत पार्टीको साधारण सदस्यता लिएका हुन्।

शमानीले आगामी स्थानीय तहको निर्वाचनमा पोखरिया नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने लक्ष्यसहित आफ्नो राजनीतिक गतिविधिलाई अघि बढाउने बताएका छन्। उनले पोखरिया नगरपालिकाको समग्र विकास, स्थानीयवासीका आवश्यकता र जनताले भोग्दै आएका समस्याको समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो उद्देश्य रहेको बताएका छन्।
सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका शमानीको रास्वपा प्रवेशसँगै पोखरियाको स्थानीय राजनीतिमा उनको आगामी भूमिकाबारे चर्चा सुरु भएको छ। राष्ट्रिय मुक्ति पार्टी नेपालको सहमहासचिवको जिम्मेवारीमा रहेका उनी रास्वपामा आबद्ध भएपछि उनको राजनीतिक यात्राले नयाँ दिशा लिएको छ।

शमानीले नगरको विकास र जनताको अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्ने लक्ष्य लिएका छन्। यद्यपि, आगामी स्थानीय तहको निर्वाचनमा पोखरिया नगरपालिकाको नगर प्रमुख पदका लागि रास्वपाले उनलाई आधिकारिक उम्मेदवार घोषणा गरिसकेको छैन।

रास्वपामा उनको प्रवेश र नगर प्रमुख पदमा उम्मेदवारी दिने लक्ष्यले पोखरियाको आगामी स्थानीय राजनीतिक गतिविधिमा चासो बढाएको छ।