मङ्सिर २१ काठमाडौँ ___ अभिनेत्री पूजा शर्माले लामो समयका प्रेमी युद्ध बानियाँसँगको सम्बन्धलाई शनिबार विवाहमा परिणत गरिन्। विवाह समारोहमा अभिनेता राजेश हमाल पत्नी मधु भट्टराईसँगै रेखा थापा, निरूता सिंह, झरना थापा, केकी अधिकारी, वर्षा राउत, सृष्टि श्रेष्ठ, रेजिना उप्रेतीलगायतको उपस्थिति थियो। भव्य सजावट, परम्परा र आधुनिकता मिश्रित कार्यक्रमसँगै विवाह समारोहको प्रमुख आकर्षण चाहिं हेलिकप्टरबाट गरिएको पुष्पवृष्टि बन्यो।

स्वयंवरका क्रममा दुवैले औंठी साटेपछि आकाशबाट हेलिकप्टरमार्फत फूल झारिएको क्षणले विवाहलाई अद्भुत र अविस्मरणीय बनाएको भन्दै अहिले सामाजिक संजालमा टिप्पणी भइरहेको छ। फूलको वर्षा परेपछि विवाहस्थल रंगीन र रोमाञ्चक दृश्यले भरिपूर्ण बनेको थियो। नेपाली सेलिब्रेटी विवाहमा हेलिकप्टरको प्रयोगबारे पहिलेदेखि चर्चा भए पनि प्रत्यक्ष पुष्पवृष्टि गरिएको दृश्य भने सम्भवतः पहिलोपटक सार्वजनिक भएको हो।

यही कारणले शनिबारदेखि सामाजिक सञ्जालमा यासँग सम्बन्धित भिडियो र तस्वीरहरू व्यापक रूपमा भाइरल भइरहेका छन्। फूल झार्ने व्यवस्थापन बेहुला पक्षले गरेको हो कि बेहुली पक्षले, यो भने सार्वजनिक गरिएको छैन। तर करिब पाँच मिनेटसम्म ३ सय किलो सयपत्री फूल आकाशबाट खन्याइएको बताइन्छ। फेरि यसको खर्चबारे भने बताइएको छैन।