मङ्सिर १८ जनकपुरधाम ___  मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको ७ दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेश प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि ७ राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो । जनकपुधामस्थित प्रदेशसभा सचिवालयमा भएको बैठकमा सात दलका नेता तथा सांसदहरूको उपस्थित रहेको लोसापाका सांसद उपेन्द्र महतोले जानकारी दिए ।

मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिएका छन् । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद पनि अघि बढाएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले अन्य सबै दलले सरकारको नेतृत्व सम्हालिसकेकाले अब कांग्रेसको दाबी स्वाभाविक भएको बताए । “प्रदेश प्रमुखले आह्वान गर्नु भएपछि अब सातै दल बसेर नेतृत्वको विषयमा टुंगोमा पुग्ने छौँ, कांग्रेसको नेतृत्वमा अब खासै विवाद नहोला,” झाले भने । यता लोसपाका सोनल यसअघि माओवादी केन्द्र र जनमत पार्टीको चलखेलका कारण आफूले विश्वासको मत प्राप्त नगरेको भन्दै अब सबै मिलेर पुनः आफूलाई मौका दिनुपर्ने बताउँछन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल भने सोनलले सबै दललाई मिलाउन सके मात्र उनलाई समर्थन गर्ने नत्र कांग्रेसको साथमा जाने मनस्थितिमा छ । सभामुख र भौतिक पूर्वाधार मन्त्रालय पाएमा जसपाले कांग्रेसलाई समर्थन गर्ने बताइएको छ । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने भन्नेमा औपचारिक सहमति नभएको बताए । जसपाका प्रमुख सचेतक यादव पाँच वर्षमा पाँच जना मुख्यमन्त्री बनाउँदा धेरै नकारात्मक सन्देश जाने भएकाले अब सरकार बनाउँदा सात दल एक हुनुपर्ने धारणा राखे । “धेरै खिचातानीले नकारात्मक सन्देश जान्छ, त्यसैले हामी पदभन्दा संघीयतालाई सबलीकरण गर्नेतर्फ लाग्नुपर्छ”, यादवले भने ।

लोसपाकी नेतृ एवं प्रदेशसभा सदस्य रानी शर्मा तिवारी भने लोसपा नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेर ढलेका कारण अहिलेको नयाँ कोर्स त्यहीँबाट सुरु हुनुपर्ने बताउँछिन् । “जहाँबाट अहिलेको अवस्था सुरु भएको हो, नयाँ कोर्स त्यहीँबाट थालिनुपर्छ,” शर्माले भनिन् । यसरी दलहरूबीच सहमति जुट्न नसक्दा बैठक बिना निष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए । यादवले कांग्रेस र लोसपालाई छुट्टै बसेर सहमति गर्न समय दिएको बताए । उनले आजै अबेर राति भए पनि सात दलको बैठक बस्ने जानाकारी दिए ।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८ को २ बमोजिम शुक्रबार ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समय सीमा निर्धारण गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने छाँट देखेपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा गरेका थिए ।