मङ्सिर १७ रौतहट___ गौर चन्द्रपुर सडक खण्डमा इ–रिक्सा र पिकअप भ्यान एकआपसमा जुध्दा एक परिवारका चार सहित ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, रौतहटको माधवनारायण नगरपालिका–३ स्थित गौर चन्द्रपुर सडकखण्डमा बुधवार दिउसो १२ बजेको समयमा चन्द्रपुरबाट गौर तर्फ आउदै गरेका प्र.२–०३–००१ ह १०७४ नं. को इ–रिक्सा र विपरित दिशा तर्फ गईरहेका विआर ०६ जिजि ५४०४ नम्वरको पिकअप भ्यान एकआपसमा जुधेपछि ७ जना घाइते भएका हुन् ।

इ–रिक्सामा सवार यमुनामाई गाउँपालिका–४ सरुअठाका ३४ बर्षीय जमसेद आलम, बरहथवा नपा २ हजरियाका नागेन्द्र बैठाको २७ बर्षीय श्रीमती रिन्कु बैठा, निजको ७ बर्षीया छोरी अनुषका बैठा, ५ बर्षीया छोरी अन्निय बैठा, ३ बर्षीय छोरा आयुष बैठा, डेढ बर्षीय छोरा रोमन बैठा र माधवनारायण नपा ६ सखुअवाका २० बर्षीय रामविश्वास बैठा घाइते भएको प्रहरीले जनाए । प्रहरीका अनुसार घाइतेहरु मध्ये अनुषका बैठा गम्भीर घाइते भएको हुँदा उनको उपचारको लागि विरगंज पठाइएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले अन्य घाइतेहरुको शुकदेव चोक स्थित शिवदर्शन र तराई सहित विभिन्न अस्पतालमा उपचार भईरहेको तथा उनीहरुको अवस्था मध्यम एवं सामान्य रहेको बताए ।

प्रहरीले पिकअप चालक भारत बिहार राज्य सितामढी जिल्ला थाना डुमरा बडहरवा ग्राम पंचायत बस्ने राम सेवक साहको छोराको ३१ बर्षीय संतोष कुमार साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाएको डिएसपी वस्यालले जानकारी दिए ।