मङ्सिर १७ वीरगंज ___मधेश प्रदेशमा मदरसा शिक्षा बोर्डलाई स्वीकृति प्रदान गर्ने गरी शिक्षा मन्त्रालयमा पठाइएका निर्णय विरुद्ध विश्व हिन्दु परिषद नेपालले मधेश प्रदेशका राजधानी जनकपुर, वीरगंज सहितका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन गरेका छन् । मधेस प्रदेशका विवादित मुख्यमन्त्री सरोज कुमार यादवले मदरसा शिक्षा बोर्डलाई स्वीकृति प्रदान गरेर शिक्षा मन्त्रालयमा पठाएको निर्णयका विरोधमा सडकमा उत्रिएका विश्व हिन्दू परिषद् नेपाल, जनकपुर वीरगंज लगायतका स्थानहरुमा बुधबार बृहत् विरोध प्रदर्शन गरेका हुन् ।

जनकपुरमा मुख्यमन्त्री कार्यालय बाहिर, वीरगंजमा घन्टाघर क्षेत्रमा आयोजित कार्यक्रमहरु मार्फत विश्व हिन्दु परिषद्ले मशाल जुलुस निकाली मुख्यमन्त्री यादवको पुत्ला दहन गरे । प्रदर्शनमा सहभागीहरूले उक्त निर्णय धार्मिक विभाजनलाई निम्त्याउने दाबी गर्दै तत्काल खारेज गर्न माग गरे। विरोधमा उत्रिएकाहरुले शिक्षालाई धार्मिक आधारमा विभाजित गर्ने प्रयास गलत भएको उल्लेख गर्दै प्रदेश सरकारलाई निर्णय फिर्ता लिन चेतावनी दिए । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनयकुमार यादवले पनि एक विज्ञप्ती निकाल्दै मदरसा शिक्षा बोर्डको विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै विवादित मुख्यमन्त्रीले मधेश प्रदेशमा शान्ति सुव्यवस्थामा खुलल पुर्याई धार्मिक सदभावलाई समेत अस्थिर बनाउने कार्य गरेको हुँदा उक्त निर्णयलाई कार्यान्वयन नगर्न गराउन चेतावनी दिए ।