पर्सा ५ कार्तिक । मधेस प्रदेशस्तरीय १०औँ कुस्ती प्रतियोगिताको अवसरमा पर्साको धोबिनी गाउँपालिकाका युवा नेता तथा समाजसेवी सन्तोष पटेल सम्मानित हुनुभएको छ।समाजसेवाप्रतिको समर्पण, खेलकुद क्षेत्रप्रतिको चासो तथा विभिन्न सामाजिक गतिविधिमा पुर्‍याउँदै आउनुभएको योगदानको कदर गर्दै पटेललाई प्रतियोगिताका अवसरमा सम्मान गरिएको हो।
स्थानीय स्तरमा सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका पटेलको सम्मानले धोबिनी गाउँपालिकासहित समग्र पर्सा जिल्लाको प्रतिष्ठा बढाएको छ।

खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान तथा खेलाडीहरूको मनोबल उच्च बनाउन यस्ता प्रतियोगिता र सम्मान कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, युवालाई सामाजिक कार्य तथा सकारात्मक गतिविधिमा सक्रिय हुनसमेत यसले प्रेरणा दिने अपेक्षा गरिएको छ।
सम्मानपछि पटेलले यसलाई व्यक्तिगत उपलब्धिभन्दा पनि समाजप्रतिको जिम्मेवारी थपिएको रूपमा लिँदै आगामी दिनमा खेलकुदको विकास, युवा प्रोत्साहन र सामाजिक रूपान्तरणका क्षेत्रमा आफ्नो सक्रियता निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।