पर्सा २३ कार्तिक । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा दीपावली अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट लाग्ने परम्परागत मेलाको अवसरमा सोमबार कुस्ती प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट आयोजना हुँदै आएको उक्त मेलामा यस वर्ष पनि वडा समितिको आयोजनामा कुस्ती प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा नेपाल तथा भारतका चर्चित महिला र पुरुष पहलवानहरूले सहभागिता जनाएका थिए।

स्थानीय मौलिक खेलकुद तथा परम्परागत कुस्ती संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता हेर्न स्थानीयवासीको उल्लेखनीय भीड लागेको थियो। पहलवानहरूबीच भएको रोचक प्रतिस्पर्धाले दर्शकलाई उत्साहित बनाएको थियो।

वडा अध्यक्ष दीपेन्द्र कुमार सिंहको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा मेला समितिका अध्यक्ष सिकन्दर साह कानु, नेपाली कांग्रेस पर्साका सहसचिव एवं गाउँपालिका अध्यक्षका प्रत्यासी नवीन कुमार सिंह, वडा सचिव राजकिशोर प्रसाद चौरसिया तथा कार्यपालिका सदस्य भगिया देवी लगायतको विशेष उपस्थिति रहेको थियो।

स्थानीय कला, संस्कृति र परम्परालाई निरन्तरता दिँदै प्रत्येक वर्ष आयोजना हुँदै आएको यस मेलाले सामाजिक सद्भाव, आपसी भाइचारा र खेलकुद संस्कृतिको विकासमा समेत योगदान पुर्‍याउँदै आएको स्थानीयवासीले बताएका छन।