पर्सा २३ कार्तिक । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा लागेर पाँच वर्षीय बालकको मृत्यु भएको छ। चाडपर्वका बेला बिहानै पटाका पड्काउने क्रममा भएको दुर्घटनामा स्थानीय मखु सहनीका पाँच वर्षीय छोराले ज्यान गुमाएका हुन्।
प्राप्त जानकारीअनुसार आज बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेर गम्भीर रूपमा जलेको थियो। पटाका लागेपछि उनी बेहोस भएका थिए। तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा मखु सहनीले बताएका छन्।

बालकको दुःखद मृत्युपछि जिल्लामा अवैध रूपमा भित्रिने पटाकाको कारोबार, बिक्रीवितरण तथा प्रयोग नियन्त्रण गर्न प्रहरी प्रशासनले अपनाएको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
विशेषगरी इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालको नेतृत्वमा रहेको प्रहरी टोलीले आफ्नो कार्यक्षेत्रमा प्रभावकारी गस्ती तथा निगरानी गर्न नसकेको हो कि भन्ने प्रश्न स्थानीयस्तरमा उठ्न थालेको छ। सीमावर्ती क्षेत्रबाट पटाकाको अवैध ओसारपसार र बिक्रीवितरण भइरहेको आशंकाबीच प्रहरीले समयमै नियन्त्रण गर्न नसक्दा सर्वसाधारणको ज्यान जोखिममा परेको देखिन्छ।

चाडपर्वलाई लक्षित गरी पटाका तथा विस्फोटक पदार्थको अवैध कारोबार रोक्नुपर्ने प्रहरीको प्रमुख जिम्मेवारी भए पनि बजार तथा ग्रामीण बस्तीमा पटाका सहजै उपलब्ध हुनु प्रहरी निगरानीको प्रभावकारितामाथि प्रश्न उठाउने विषय बनेको छ।
यस घटनाबारे प्रहरी निरीक्षक भानुभक्त अर्यालसँग प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गर्दा उनले फोन उठाएनन्। त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लसँग पनि घटनाबारे जानकारी तथा आधिकारिक धारणा लिन खोज्दा फोन उठेन।

एक निर्दोष पाँच वर्षीय बालकले अकालमै ज्यान गुमाउनुपरेको यस घटनाले प्रहरी प्रशासनको गस्ती, सीमा निगरानी र अवैध पटाका नियन्त्रणसम्बन्धी जिम्मेवारीमाथि गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
अब प्रहरी प्रशासनले पटाका कहाँबाट भित्रियो, कसले बिक्रीवितरण गरिरहेको थियो र प्रतिबन्धित वा जोखिमयुक्त विस्फोटक पदार्थको प्रयोग रोक्न किन प्रभावकारी निगरानी हुन सकेन भन्ने विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आवश्यक छ। साथै, यस्ता घटना दोहोरिन नदिन जिम्मेवार निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।