पर्सा २१ कार्तिक- पर्साको धोबीनी गाउँपालिकामा शिक्षा शाखाको आयोजनामा सञ्चालन गरिएको IEMIS सम्बन्धी पाँचदिने तालिम तथा शिक्षकस्तर उन्नति कार्यक्रम आज एक कार्यक्रमबीच सम्पन्न भएको छ।
शिक्षकहरूको क्षमता अभिवृद्धि, शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा विद्यालयको शैक्षिक व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

देवेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, प्रशिक्षक प्रभु प्रसाद रौनियार, जगमोहन प्रसाद रौनियार, गोबिन्द कुमार पटेल तथा सहयोगी निरज पटेललगायतको उपस्थिति रहेको थियो।
पाँच दिनसम्म सञ्चालन भएको तालिममा विद्यालयमा प्रयोग हुँदै आएको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। तालिमका क्रममा शैक्षिक तथ्याङ्क व्यवस्थापन, विद्यार्थी विवरण प्रविष्टि तथा अद्यावधिक गर्ने प्रक्रिया, विद्यालयको सूचना प्रणाली सञ्चालन र प्रविधिको प्रभावकारी प्रयोगबारे शिक्षकहरूलाई व्यावहारिक प्रशिक्षण दिइएको थियो।
त्यसैगरी शिक्षकहरूको पेशागत क्षमता विकास, शिक्षण विधिमा सुधार तथा आधुनिक प्रविधिमार्फत शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी शिक्षकहरूले तालिमबाट IEMIS प्रणाली सञ्चालन तथा विद्यालयको शैक्षिक तथ्याङ्क व्यवस्थापनमा आवश्यक ज्ञान र सीप प्राप्त गरेको बताएका छन्। यसले विद्यालयको शैक्षिक योजना निर्माण, विद्यार्थी विवरण व्यवस्थापन तथा शैक्षिक गतिविधिको अनुगमनलाई थप सहज र प्रभावकारी बनाउने विश्वस गरिएको छ।

शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शिक्षकहरूको क्षमता विकास र सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै आयोजकले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा प्रविधिमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।पाँचदिने तालिम सफलतापूर्वक सम्पन्न भएसँगै धोबीनी गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक व्यवस्थापन र शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ।