पर्सा, १७ कार्तिक नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत देशभर सञ्चालन भइरहेको भिटामिन ‘ए’, जुकाको औषधि तथा बालभिटा वितरण अभियान पर्सा जिल्लामा पनि सुरु भएको छ। अभियानअन्तर्गत कालिकामाई गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनुका साथै बालभिटा वितरण गरिएको छ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ। बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा तोकिएको उमेर समूहका बालबालिकालाई लक्षित गरिएको हो।

अभियानको पहिलो दिन कालिकामाई गाउँपालिकामा जनस्वास्थ्य अधिकृत रानी पण्डितले विभिन्न स्थानमा पुगेर पोषण कार्यक्रमको अनुगमन गर्नुभएको थियो। उहाँले अभियानको प्रभावकारिता तथा बालबालिकालाई औषधि खुवाउने कार्यको अवस्थाबारे जानकारी लिनुभएको थियो।

कालिकामाई गाउँपालिका स्वास्थ्य संयोजक धिरज कुमार गुप्ताका अनुसार भिटामिन ‘ए’, जुकाको औषधि खुवाउने तथा बालभिटा वितरण कार्यक्रम कात्तिक १७ र १८ गतेसम्म सञ्चालन हुनेछ। अभियानमार्फत गाउँपालिकाभित्रका लक्षित उमेर समूहका बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरिने उहाँले बताउनुभयो।

यसअघि भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरण हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको थियो। तर, यस वर्ष दसैँको सार्वजनिक बिदाका कारण कार्यक्रमको मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो।

नेपाल सरकारले हरेक वर्ष दुई चरणमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो चरण कात्तिक महिनामा र दोस्रो चरण वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ।

बालबालिकाको स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यस राष्ट्रिय अभियानमा आफ्ना बालबालिकालाई तोकिएको उमेरअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन तथा बालभिटा प्राप्त गर्न सरकारले अभिभावकलाई आग्रह गरेको छ।