फागुन २६ काठमाडौंँ___ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति धन्यवाद व्यक्त गर्दै नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान र साझा समृद्धिको आधारमा अझ मजबुत बनाउने प्रतिवद्धता जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै उनले नेपालका जनताले दिएको लोकतान्त्रिक जनादेशलाई स्वीकार्दै शुभकामना व्यक्त गरेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका हुन् । लामिछानेले लेखेका छन्– ‘नेपाली जनताको लोकतान्त्रिक निर्णयलाई सम्मान गर्दै दिएको शुभकामनाले नेपाल–भारत सम्बन्धलाई थप सकारात्मक दिशामा अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दछु ।’

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी तथा आफूहरूले नेतृत्व गर्ने सरकार नेपाल र भारतबीचको सम्बन्धलाई आपसी सम्मान, विश्वास र साझा समृद्धिको आधारमा अघि बढाउने दिशामा प्रतिवद्ध रहने बताएका छन् । उनले विशेष गरी ‘विकास कूटनीति’ लाई प्राथमिकतामा राखेर छिमेकी मुलुकहरूसँग सहकार्य विस्तार गर्ने नीति लिने उल्लेख गरेका छन् ।

सभापति लामिछानेका अनुसार नेपाल र भारतबीचको सहकार्यलाई अझ नयाँ उचाइमा पुर्याउन कनेक्टिभिटी (यातायात तथा पूर्वाधार जोड्ने व्यवस्था), सांस्कृतिक पर्यटन, ऊर्जा क्षेत्र र व्यापारमा थप सहयोग र साझेदारी आवश्यक रहेको बताए । यी क्षेत्रहरूमा सहकार्य बढाउन सके दुवै देशका नागरिकका लागि समृद्ध भविष्य सुनिश्चित गर्न सकिने उनले उल्लेख गरेका छन् ।

लामिछानेले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन दुवै देशबीचको साझेदारीले आगामी दिनमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा पनि व्यक्त गरेका छन् । लामिछानेले अन्त्यमा नेपाल र भारतबीचको सहकार्यले दुवै देशका जनताको हितमा दीर्घकालीन समृद्धि र स्थायित्व ल्याउने विश्वास व्यक्त गरेका छन् ।