फागुन १४ वीरगंज ___ पर्सा जिल्ला प्रशासन कार्यालयबाट मिति २०८२ साल फाल्गुण १५ गतेदेखि लागू हुने गरी मदिरा व्यवसाय तथा बिक्री–वितरण बन्द गरिएको भन्ने सूचनाले सम्पूर्ण मदिरा व्यवसायीहरू अत्यन्तै चिन्तित र मर्माहत भएका छन्। अहिलेको अवस्थामा मदिरा व्यवसायीहरूको आर्थिक स्थिति पहिले नै कमजोर रहेको छ। देशको वर्तमान परिस्थितिले व्यवसाय थप प्रभावित भएको छ। यथार्थमा हेर्ने हो भने राज्यलाई कर (Tax) तिर्ने प्रमुख क्षेत्रमध्ये मदिरा व्यवसाय पनि एक हो।

वर्षौंदेखि व्यवसायीहरूले राज्यको राजस्वमा महत्वपूर्ण योगदान गर्दै आएका छन्। तर यही व्यवसायलाई लक्षित गरेर यसरी अचानक गरिएको निर्णयले व्यवसायीहरूलाई गम्भीर संकटमा पारेको छ। विशेषगरी होली जस्तो पर्व वर्षमा एकपटक आउने महत्वपूर्ण समय हो, जसमा धेरैजसो व्यवसायीहरूले वर्षभरिको ठूलो कारोबार गर्ने अपेक्षा राखेका हुन्छन्। यही समयलाई लक्षित गरेर धेरै व्यवसायीहरूले बैंक, सहकारी, साथीभाइ तथा अन्य स्रोतबाट सापटी, ऋण तथा कर्जा लिएर सामान खरिद गरी व्यापारको तयारी गरेका हुन्छन्।

यस्तो अवस्थामा होली आउनुभन्दा करिब एक हप्ता अगाडि नै पसल बन्द गर्ने निर्णय गर्नु कतिको न्यायोचित हो भन्ने गम्भीर प्रश्न उठेको छ। यदि व्यवसाय नै सञ्चालन गर्न नदिने हो भने व्यवसायीहरूले लिएको ऋण, बैंकको किस्ता, घरपरिवारको खर्च र राज्यलाई तिर्नुपर्ने कर कसरी तिर्ने ? यसको जिम्मेवारी कसले लिने ? राज्यले व्यवसायीहरूको पीडा र वास्तविक अवस्थालाई बुझ्नु अत्यन्त आवश्यक छ।यस विषयमा पर्सा मदिरा व्यवसायी संघ सम्बन्धित निकायसमक्ष गम्भीर आपत्ति प्रकट गर्दै उक्त निर्णय पुनर्विचार गर्न तथा व्यवसायीहरूको समस्या, लगानी र परिस्थितिलाई मध्यनजर गर्दै उपयुक्त समाधान निकाल्न जोडदार माग गर्दछ।अन्त्यमा, सम्पूर्ण व्यवसायी साथीहरूलाई संयमित र एकताबद्ध भई आफ्नो हक–अधिकारका लागि उभिन पनि अनुरोध गरेका छन् ।