पर्सा १८ कार्तिक पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच भव्य रूपमा उद्घाटन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिका पूर्वमन्त्री एवं प्रमुख अतिथि रमेश रिजालले पूजापाठ गरी, रिबन काट्नुका साथै शिलालेख अनावरण गरेर भवनको विधिवत् उद्घाटन गर्नुभएको हो।

लामो समयदेखि प्रशासनिक सेवा सञ्चालनका क्रममा भौतिक पूर्वाधारको समस्या भोग्दै आएको गाउँपालिकाले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ प्रशासनिक भवन निर्माण गरेको हो। गाउँपालिकाको निर्णयअनुसार २०८१ सालमा निर्माण प्रक्रिया अघि बढाइएको उक्त भवन २ करोड ३५ लाख रुपैयाँको लागतमा जगरनाथपुर गाउँपालिका–स्थित झखरा मसिहानी गाउँमा निर्माण गरिएको हो।

नवनिर्मित भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका नागरिकले एउटै स्थानबाट विभिन्न सरकारी सेवा प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ। यसले प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउनुका साथै सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा भवनको पूजापाठ गर्नुका साथै गाईलाई प्रवेश गराएर धार्मिक विधिअनुसार भवन सञ्चालनमा ल्याइएको अध्यक्ष यादवले बताउनुभयो।कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार केसरीले राख्नुभएको थियो।

उद्घाटन समारोहमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरी, पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि वशिष्ठनारायण कुर्मी, नेता रमेश पाण्डे, पूर्व सांसद पहलाद गिरी, पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरी, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नवीन सिंह, गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, किशोरी साह, ममता महतो, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेमबहादुर थापा, गाउँपालिकाका लेखापाल सन्देश कुशवाहालगायत जनप्रतिनिधि, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, कर्मचारी, शिक्षक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले नवनिर्मित प्रशासनिक भवन गाउँपालिकाको विकास, सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै भवनको उचित संरक्षण र प्रभावकारी उपयोगमा सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

वक्ताहरूले नयाँ भवनले गाउँपालिकाको संस्थागत विकासलाई थप मजबुत बनाउनुका साथै नागरिकमैत्री सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका थिए।कार्यक्रमको सञ्चालन शिक्षक रुपनारायण साहले गर्नुभएको थियो। उद्घाटन समारोहलाई थप आकर्षक बनाउन भोजपुरी गायक सुनिल पण्डित तथा स्थानीय विद्यालयका छात्राहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।