पर्सा, १७ कार्तिक पर्साको धोबीनी गाउँपालिकामा शिक्षा शाखाको आयोजनामा IEMIS सम्बन्धी पाँचदिने तालिम तथा शिक्षकस्तर उन्नति कार्यक्रम सुरु भएको छ। शिक्षकहरूको क्षमता अभिवृद्धि, शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो।

देवेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको छ। कार्यक्रममा प्रशिक्षकका रूपमा प्रभु प्रसाद रौनियार, जगमोहन प्रसाद रौनियार र गोबिन्द कुमार पटेल सहयोगी निरज पटेल लगायतको उपस्थिति रहेको थियो।

तालिममा विद्यालयमा प्रयोग हुँदै आएको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) सम्बन्धी जानकारी, शैक्षिक तथ्याङ्क व्यवस्थापन, विद्यार्थी विवरण प्रविष्टि तथा अद्यावधिक गर्ने प्रक्रियाबारे शिक्षकहरूलाई प्रशिक्षण दिइनेछ। साथै, शिक्षकहरूको पेशागत क्षमता विकास, शिक्षण विधिमा सुधार तथा प्रविधिमैत्री शिक्षण प्रणालीको प्रयोगलाई प्रभावकारी बनाउने विषयमा समेत प्रशिक्षण केन्द्रित रहने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत शिक्षकहरूलाई आधुनिक प्रविधिसँग जोड्दै विद्यालयको शैक्षिक तथ्याङ्कलाई व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। IEMIS प्रणालीको सही प्रयोगले विद्यालयको शैक्षिक योजना निर्माण, विद्यार्थी विवरण व्यवस्थापन तथा शैक्षिक गतिविधिको अनुगमनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शिक्षकहरूको क्षमता विकास र सूचना प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको उल्लेख गर्दै तालिमलाई व्यवहारिक तथा उपलब्धिमूलक बनाउने लक्ष्य राखिएको छ।
पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिमले धोबीनी गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।