पर्सा १७ कार्तिक पर्साको धोबिनी गाउँपालिका वडा नम्बर–५, धोबिनीस्थित श्री अजीज मियाँ माध्यमिक विद्यालयमा Human Love Charity Fund द्वारा आयोजित महिला स्वास्थ्य सुरक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

महिला स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय दिदीबहिनी तथा आमाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महिला स्वास्थ्य सुरक्षा, महिनावारी स्वच्छता, व्यक्तिगत सरसफाइ तथा विभिन्न स्वास्थ्यसम्बन्धी विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।कार्यक्रममा सहयोगी तथा प्रशिक्षकको रूपमा सहभागी सपना साहले महिलाहरूलाई स्वास्थ्य सुरक्षा, महिनावारीका समयमा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत सरसफाइ र स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण तथा जानकारी प्रदान गर्नुभएको थियो।

कार्यक्रमका क्रममा महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन, सरसफाइमा विशेष ध्यान दिन तथा स्वास्थ्यसम्बन्धी समस्याबारे खुलेर जानकारी लिनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार कुन्दन प्रसाद पटेल, संस्थाका सदस्य विकास कुमार साह र नौसाद अहमद लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, श्री अजीज मियाँ माध्यमिक विद्यालयका प्रधानाध्यापक राम जितेन्द्र सर, शिक्षक तहिर अन्सारी तथा विद्यालय परिवारका सम्पूर्ण सदस्यहरूको सहभागिता र सहयोग रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने प्रशिक्षक सपना साह, विद्यालय परिवार, सहभागी सम्पूर्ण दिदीबहिनी तथा आमाहरू र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति Human Love Charity Fund परिवारले हार्दिक आभार व्यक्त गरेको छ।
संस्थाका अनुसार महिला स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनु, स्वास्थ्य, शिक्षा र सामाजिक चेतनाको विकास गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको छ। यस्ता कार्यक्रमले महिलाहरूलाई आफ्नो स्वास्थ्यको उचित हेरचाह गर्न प्रेरित गर्नुका साथै स्वस्थ परिवार र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।