पर्सा १५ कार्तिक पर्साको धोबीनी गाउँपालिका–स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भिखमपुर, पिपरामा विद्यालय व्यवस्थापन समितिका सदस्य चयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिमा अभिभावकका तर्फबाट चयन हुनुपर्ने चार जना सदस्य छनोट गरिएको हो।

शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनबमोजिम धोबीनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यालय व्यवस्थापन समिति छनोट समितिका संयोजक श्री जितेन्द्र प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न अभिभावक भेलाले नयाँ सदस्यहरू चयन गरेको हो।

भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्री मथुरा प्रसाद कुर्मी चयन हुनुभएको छ। त्यसैगरी दलित पुरुष सदस्यमा श्री धुरेन्द्र राम, महिला सदस्यमा श्री पूजा देवी र श्री प्रियंका कुमारी चयन हुनुभएको छ।

नवनिर्वाचित सदस्यहरूलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास, सुशासन तथा समग्र शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षासहित हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, शिक्षक तथा अभिभावकबीच समन्वय र विद्यालयको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

विद्यालयको उज्ज्वल भविष्य, शैक्षिक उन्नयन तथा गुणस्तरीय शिक्षाको विकासका लागि नवनिर्वाचित समितिको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।