चैत्र १० एजेन्सी_____ कोलम्बियामा वायु सेनाको विमान दुर्घटना भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा विमान दुर्घटना भएको हो । 

१२५ जना सवार कोलम्बियाली वायुसेनाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा कम्तिमा ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । विमानमा सवार प्रायः सैनिकहरू थिए,  जसमा ११० सैनिक र ११ चालक दलका सदस्यहरू थिए।

समाचारअनुसार सोमबार दुर्घटनाग्रस्त विमानले पुटुमायोको अर्को शहरमा सेनाहरू ढुवानी गरिरहेको थियो । दुर्घटना स्थलबाट कम्तिमा ७७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको वायु सेनाले जनाएको छ ।

अधिकारीहरूले अझै पनि मृत्युको अन्तिम संख्याको अनुसन्धान गरिरहेका छन् ।

कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य विमान दुर्घटनामा शोक व्यक्त गरेका छन् ।

दुर्घटनाग्रस्त सी-१३० हर्कुलस संसारको सबैभन्दा भरपर्दो सैन्य यातायात विमानमध्ये एक हो, जुन सेना, हतियार र राहत सामग्रीहरू पुर्‍याउन प्रयोग गरिन्छ ।

यो विमान कठिन र कच्चा धावनमार्गमा अवतरण गर्न सक्छ । यसले एकैचोटि भारी कार्गो, हेलिकप्टर, बख्तरबन्द सवारी साधन र ठूलो मात्रामा राहत सामग्री बोक्न सक्छ ।