हनुमत कुमार यादव

फागुन ११ रौतहट_____ रौतहटको गौर नगरपालिका–६ सबगढामा नागरिक समाजको अगुवाइमा सोमबार बिहान शान्ति सद्भाव र्‍याली निकालिएको छ । केही दिनदेखि दुई समुदायबीच उत्पन्न विवादका कारण तनावग्रस्त बनेको क्षेत्रमा शान्ति, सहिष्णुता र आपसी सद्भाव कायम गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो ।

सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍याली प्रभावित बस्तीहरूको परिक्रमा गर्दै सम्पन्न भएको थियो । सहभागीहरूले आपसी भाइचारा, संयमता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने सन्देश प्रवाह गरेका थिए । र्‍यालीमा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, समाजसेवी, धार्मिक अगुवा, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । प्रशासनका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

सहभागीहरूले हिंसा र उत्तेजनाबाट कुनै पनि समस्या समाधान नहुने उल्लेख गर्दै सबै पक्षलाई धैर्यता र संयमता अपनाउन आग्रह गरेका छन् । पछिल्ला घटनाले स्थानीय स्तरमा त्रास र अन्योल सिर्जना गरेको भन्दै अब यस्ता घटना दोहोरिन नदिन सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहट ले सोमबार बिहान ६ बजेदेखि लागू रहेको कर्फ्यु आदेश हटाएको जनाएको छ । प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गर्दै स्थिति क्रमशः सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यु हटाउने निर्णय गरेको हो । यद्यपि शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीको उपस्थिति भने यथावत् राखिएको प्रशासनले स्पष्ट पारेको छ ।

गत केही दिनदेखि गौर क्षेत्रमा दुई समुदायबीचको विवाद चर्किँदा झडप तथा ढुंगामुढा भएको थियो। स्थिति नियन्त्रणबाहिर जान सक्ने आकलनपछि प्रशासनले कर्फ्यु जारी गरेको थियो । कर्फ्युका कारण बजार, शैक्षिक संस्था तथा सार्वजनिक सेवा प्रभावित बनेका थिए ।

स्थानीय बासिन्दाले अवस्था बिस्तारै सामान्यतर्फ फर्किन थालेको प्रतिक्रिया दिएका छन् । उनीहरूले दीर्घकालीन समाधानका लागि समुदायस्तरमै निरन्तर संवाद र समन्वय आवश्यक रहेको बताएका छन् ।

र्‍यालीमार्फत सबै पक्षले सामाजिक सद्भाव कायम राख्दै विकास र शान्तिको मार्ग रोज्नुपर्ने साझा सन्देश दिएका छन् । साथै प्रशासनले अफवाहमा नलाग्न र सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।