पौष ३० सर्लाही ___ किशोरीहरुको लागि खेलौना बनाउने तालिममा विनियोजित भएको रकम हिनामिना गरेको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नगरप्रमुख कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, लेखापाल राज कुमार महतो, वडा नम्बर ५ का वडाध्यक्ष मनोज मोहन कुमार सिंह, बलरा नगरपालिकाका तत्कालीन योजना शाखा प्रमुख उदय कुमार साह, शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर-८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिया कवारीसहित ८ जना विरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नगर प्रमुख कुशवाहासहितको मिलेमतोमा बलरा नगरपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ मा संचालन भएको किशोरीहरुको लागि खेलौना बनाउने तालिम कार्यक्रम सम्झौता बमोजिम संचालन नगरी नगराई संचालन गरेको भनी झुट्टा तथा नक्कली बिल भरपाई लगायतका कागजात तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको अख्यितारले जनाएको छ । बलरा नगरपालिकामा आ.व. ०८०/०८१ मा विभिन्न कार्यक्रम/परियोजना अनुसार बजेट बिनियोजन भएकोमा बलरा नगरपालिकाले आ.व. ०८०/०८१ मा ११ औं नगरसभाबाट पारित नगरस्तरीय कार्यक्रम “किशोरीहरुको लागि खेलौना बनाउने तालिम” को ४ लाख बजेट बिनियोजन भई उक्त तालिमको लागि बलरा नगरपालिकाले ३ लाख ९९ हजार ९९९लागत अनुमान तयार गरी बलरा नगरपालिका र शान्ति विकास कल्याण केन्द्र गौर-८, रौतहट बीच ३० कार्यदिन तालिम संचालन गर्न सम्झौता गरी २०८१/०१/११ गते तालिम संचालन भई २०८१/०२/१० गते समापन भएको भनिएको थियाे ।

तर उक्त तालिममा बलरा नगरपालिका वडा नं ५ का सहभागीहरुले तालिम जम्मा ५ दिन मात्र भएको, यातायात खर्च नबुझेको तत् हस्ताक्षर/औंठाछाप नगरेको भनी स्थलगत मुचुल्कामा खुलाईदिएको देखिएको, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला शाखा कार्यालय बर्दिबास महोत्तरीले १७ जना सहभागीहरु मध्ये ९ जना सहभागीहरुको हस्ताक्षर/औंठाछाप नमिलेको भनी परीक्षण प्रतिवेदन दिएको देखिएको अख्तियारले जनाएकाे छ । उक्त तालिमको उपादेयता हासिल गर्न अनिवार्य रुपमा ३० दिन संचालन गर्नै पर्ने अन्यथा त्यसको उपादेयता नै नहुने कुरा जानी बुझी तोकिएको तालिम सञ्चालन नगरी झुट्टा तथा नक्कली बिल भरपाई सहितका कागजात तयार एवं स्वीकृति गरी/गराई सोही बमोजिम बलरा नगरपालिकाबाट भुक्तानी लिए दिएको नगर प्रमुख कुशवाहासहितकाे आपसी मिलेमतोमा तथा योजनामा ३० कार्य दिन नै संचालन भए गरेको भनी देखाउन उद्‍घाटन/समापनको हाजिर विवरणमा नगर प्रमुख कुशवाहा र वडा अध्यक्ष सिंह उपस्थित भई सोही उपस्थितिसमेत देखाई हस्ताक्षर गरेकाे थियाे ।

सम्झौता बमोजिम तालिम संचालन नै नगरी सहभागी भनिएकाहरुको झुट्टा तथा नक्कली बिल भरपाई लगायतका कागजात तयार गरी गराई गलत प्रतिवेदन दिई दिन लगाई सोही झुट्टा तथा नक्कली बिल भरपाई लगायतका संलग्न कागजातहरुको आधारमा शान्ति विकास कल्याण केन्द्रलाई ३ लाख ८२हजार ०५३ रुपैयाँमा विगाे दावी गरिएकाे छ ।आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) र उपदफा (४) बमोजिमको कसुरमा बिगो ३ लाख ८२ हजार ५३। कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन एवं प्रतिवादी नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहालाई सोही ऐनको दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिइएको छ ।