मङ्सिर २४ एजेन्सी___  अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नमा प्रतिबन्ध लगाएको छ। बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै यो कठोर कदम चालिएको छ ।

बुधबारदेखि लागू भएको यो नयाँ कानुनअनुसार १६ वर्ष मुनिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स (ट्वीटर), थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता १० वटा मुख्य प्ल्याटफर्महरू प्रयोग गर्न नपाउने रोयटर्सले जनाएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो निर्णयलाई ‘अस्ट्रेलियन बालबालिकाका अभिभावकले गर्व गर्ने दिन’ र ‘राष्ट्रले भोग्न लागेको सबैभन्दा ठूलो सामाजिक र सांस्कृतिक परिवर्तनमध्ये एक’ भनेर व्याख्या गरेका छन्।

रोयटर्सका अनुसार धेरैजसो अभिभावकहरूले सरकारको यस कदमको प्रशंसा गरेका छन्। प्रधानमन्त्री अल्बानिजले बालबालिकाहरूलाई सामाजिक सञ्जाल छाडेर खेलकुद, संगीत र अध्ययनजस्ता रचनात्मक कार्यहरूमा लाग्न आग्रह गरेका छन्।

सरकारले यो व्यवस्थाको कार्यान्वयन पक्षलाई बलियो बनाएको छ ।  यदि निषेध गरिएका सामाजिक सञ्जालहरूमा १६ वर्ष मुनिका बालबालिकाको पहुँच भएको पाइएमा, सम्बन्धित प्ल्याटफर्महरूलाई झन्डै ५ करोड अस्ट्रेलियन डलरसम्म जरिवाना लाग्नेछ। यसले प्ल्याटफर्महरूलाई आफ्नो तहबाट जिम्मेवार बनाउनेछ।

नयाँ व्यवस्था अन्तर्गत, सामाजिक सञ्जाल कम्पनीहरूले नयाँ खाता खोल्ने प्रयोगकर्ताहरूको उमेर सुनिश्चित गर्नका लागि सेल्फीमार्फत उमेर अनुमान, परिचयपत्र वा बैंक विवरणजस्ता कडा प्रमाणहरू पनि माग्न सक्नेछन्।

कानुन लागू हुनुअघि नै करिब १० लाख बालबालिकाहरूले ‘गुडबाई’ भन्दै आफ्ना सामाजिक सञ्जाल खाताहरूमा पोस्ट गरेका छन्। यसको विरोधमा धेरैले #seeyouwhenim16 ह्यासट्याग अभियानसमेत चलाएका छन्।

केही युवाहरूले यस प्रतिबन्धले विश्वसँगको सम्पर्क टुट्ने गुनासो गरेका छन्। १४ वर्षीया एनी वाङजस्ता किशोरकिशोरीहरूले प्रतिबन्धले एलजीबीटीक्यूआई+ जस्ता विशेष रूचि भएका समुदाय वा एक्लो महसुस गर्ने युवाहरूलाई थप एक्ल्याउने र उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालको नकारात्मक असर, गलत सूचना, बदमासी र शरीरबारेका हानिकारक सामग्रीका कारण सरकारले यो कदम चालेको हो। अस्ट्रेलियाको यो मोडेलको अध्ययन डेनमार्क, न्यूजिल्यान्ड र मलेसियाजस्ता अन्य देशहरूले पनि गर्ने संकेत गरेका छन्।