मङ्सिर २४ काठमाडौँ ___ सरकार र जेनजीबिचको सम्झौताको मस्यौदा (ड्राफ्ट) टुङ्गो लागेको छ । मंगलबार जेनजी प्रतिनिधि, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिबिच सम्झौताको मस्यौदा टुङ्गो लागेको जेनजी अभियन्ता सुदन गुरुङले जानकारी दिए ।

यससँगै सम्झौताको अन्तिम ड्राफ्टलाई अनुमोदन गरी हस्ताक्षरको लागि तयार पारिएको छ । विभिन्न चरणका छलफलपछि तयार पारिएको यो सम्झौतामा आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर औपचारिक रूपमा हस्ताक्षर गरिने भएको छ ।

जेनजीहरूले सरकारसमक्ष आफ्ना मागहरू समावेश गरी विभिन्न बुँदामा सम्झौताको माग गर्दै आएका थिए। हिजो मात्र जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका थिए ।

भेटमा गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए । भेटमा गुरुङले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सुदनसँगै काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेन पनि सहभागी थिए ।