मङ्सिर २३ वीरगंज__ पोखरिया नगरपालिका वार्ड नं.९ सेमरबारी टोलमा लायन्स क्लब वीरगंज परिवार, लायन्स क्लब वीरगंज सेन्ट्रल सिटि र जोन चेयर पर्सन डा.लक्ष्मी थापाको सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी तथा आशा देवीको पहलमा आयोजित यस स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र वीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आँखाको जाँच तथा परामर्श प्रदान गरिएको थियो ।

जाँचका क्रममा ३४ जना व्यक्तिमा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने र यो शिविर पोखरिया नगरपालिकाको दश वटै वार्डमा गरीने परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेय जानकारी गराउनु भएको छ ।

समाजसेवी रोसन कुमार कुसवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मुक्ति नेपालका सह-महासचिव नेजामुद्दीन समानी, नेपाली काँग्रेसका नेत्री आशा देबि, रामेश्वर चौहान, नन्दकिशोर चौहान तथा अन्य सम्माननीय व्यक्तिहरूको पनि विशेष उपस्थिति रहेको थियो।