मङ्सिर १९ नयाँदिल्ली___ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्ने प्रतिबद्धता जनाएका छन् । पुटिनको यो प्रतिबद्धताले नयाँदिल्लीलाई मस्कोबाट तेल खरिदमा अमेरिकी दबाबको सामना गर्दा राहत दिने अपेक्षा गरिएको छ । पुटिनले नयाँदिल्ली भ्रमणका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै भने, “रुस तेल, ग्यास, कोइला र भारतको ऊर्जाको विकासका लागि आवश्यक सबै कुराको भरपर्दो आपूर्तिकर्ता हो । हामी तीव्र गतिमा बढिरहेको भारतीय अर्थतन्त्रका लागि इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्न तयार छौँ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा भारतका धेरै उत्पादनहरूमा ५० प्रतिशत कर लगाएपछि, भारतले रूसी तेलको निरन्तर खरिदलाई उद्धृत गर्दै उक्त निर्णयको औचित्य राखेको थियो । प्रधानमन्त्री मोदीले पुटिनलाई भारतप्रतिको अटुट प्रतिबद्धताका लागि धन्यवाद दिँदै ऊर्जा सुरक्षालाई भारत–रुस साझेदारीको बलियो स्तम्भ भएको बताए। उनले पुटिनलाई ‘मेरा मित्र’ भनेर सम्बोधन गर्दै दुई देशको लामो समयदेखि रहेको सम्बन्धको प्रशंसा पनि गरे। भेटका क्रममा अधिकारीहरूले रोजगारी, स्वास्थ्य, ढुवानी र रसायन क्षेत्रका सम्झौताहरू आदानप्रदान गरे । मोदीले पुटिनलाई सन् २०३० सम्मको आर्थिक सहयोग कार्यक्रममा सहमति भएको जानकारी दिए। उक्त सहमतिले व्यापार र लगानीलाई विविधीकृत, सन्तुलित र दिगो बनाउने विश्वास दिलाएको छ ।

यसै गरि भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भएका छन् । शुक्रबार बिहान भारतीय राष्ट्रपतिको भवन परिसरमा उनलाई २१ तोपको सलामी दिँदै स्वागत गरिएकाे छ । साथै उनलाई गार्ड अफ अनर पनि प्रदान गरिएको थियो । पुटिन बिहीबार साँझ दुई दिने भ्रमणमा भारत पुगेका हुन् । उनीसँगै सातजना मन्त्रीहरूको प्रतिनिधिमण्डल पनि सहभागी छन् । मोदी र पुटिनबीच दुई महत्त्वपूर्ण बैठक हुने कार्यक्रम तय भएको छ ।

द्विपक्षीय बैठकका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ । पुटिन विमानस्थलमा उत्रिता मोदी स्वयं एयरपोर्टमा स्वागत गर्न पुगेका थिए । दुवै नेताले एकअर्कालाई अंगालो हालेका थिए । मोदी तथा पुटिन एउटै गाडीमा बसेर एयरपोर्टबाट प्रधानमन्त्री निवास पुगेका थिए । मोदीको निमन्त्रणामा आयोजित २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनको क्रममा दुई नेताहरूबीच रक्षा सहयोगलाई सुदृढ पार्ने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना मोड्युलर रिएक्टरहरूमा साझेदारी गर्ने विषयमा छलफल हुने भारतीय संचारमाध्यमहरूले जनाएका छन् । पुटिन भारत भ्रमणमा दिल्ली ओर्लिएपछि बिहीबार मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएका थिए ।