माघ १५ काठमाडौँ _ भारत सरकारले नेपाल सरकारलाई गाडी सहयोग गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ। माघ ६ गते सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको थियो। ती गाडीलाई सिंहदरबारस्थित गृह मन्त्रालय अगाडि राखिएका छन्। गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। उक्त प्रस्ताव अन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो।

निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो । बिहीबार अर्थ मन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरे । अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधन सहयोग गरेको जानकारी दिए । भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारी साधनमध्ये बिहीबार दोस्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए ।

यसपछि बाँकी रहेका सवारी साधनका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरू समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केहीअघि पनि भारतले ६० भन्दा बढी सवारीसाधन नेपाललाई हस्तान्तरण गरेको थियो । यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ। गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ। भारत सरकारले विभिन्न समयमा नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ।

सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ। भारतले नेपाल सरकारलाई जिम्मा लगाइसकेपछि ती गाडीहरू निर्वाचनका क्रममा आवश्यकताका आधारमा विभिन्न स्थान तथा निकायहरूमा वितरण गरिने गृह मन्त्रालयले जनाएको छ।​“भारतीय पक्षबाट भइरहेको यो सहयोग र समर्थन दुई देशबीच रहिआएको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिविम्ब मात्र नभई भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रताको प्रतीक पनि हो,” भारतीय दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारको आग्रहमा भारतले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ । आसन्न निर्वाचनका निम्ति उपहारस्वरूप करिब ६५० सवारीसाधन नेपाललाई उपलब्ध गराउने भारतले प्रतिबद्धता जनाएको थियो । भारतले यसअघि निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै दुई हजार र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० गरी कुल २४ सय सवारीसाधन उपलब्ध गराइसकेको छ ।