पौष ३ वीरगंज ___ कोशी प्रदेशको संखुवासभा जिल्लाको चिचिला गाउँपालिका-३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष श्री पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा विद्यालय भवनको उद्घाटन गर्नुभयो । विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र यसको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो । सन् १९६२ मा संखुवासभा जिल्लामा स्थापना भएको श्री दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुन्छ ।

चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहायोगको प्रशंसा गर्नु भएको छ। वहाँहरुले नयाँ पूर्वाधारले यहाँको सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले भुईंतहमा प्राथमिकता क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारले गरेका विकासका प्रयासहरूमा भारत सरकारको निरन्तर सहयोग रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

त्यस्तै, भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।