पौष २ सर्लाही___ छ महिनादेखि तलब नपाउँदा सर्लाहीको बसबरिया गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। तलब माग्दै उनीहरूले बुधबारदेखि गाउँपालिका कार्यालयमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। गाउँपालिकामा चालु आर्थिक वर्षको बजेट अहिलेसम्म पारित हुन नसकेकोले कर्मचारीहरूलाई तलब वितरण गर्न असमर्थता देखिएको हो। शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ भने स्वास्थ्यकर्मीको धर्नाका कारण स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका सेवा ठप्प भएका छन्।

गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार, जनप्रतिनिधिबीच सहमती नजुट्दा बजेट पारित हुन नसकेको हो। उच्च अदालत जनकपुरको आदेशका कारण उपाध्यक्ष सरिता कुमारीको सहभागिता नहुँदा बजेट, योजना र राजश्व प्रस्ताव सम्बन्धी निर्णय लिन असमर्थ भएको उनले बताए। उपाध्यक्ष सरिता कुमारीले भने आफूलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न नदिइएको गुनासो गर्दै अदालतमा निवेदन दिएको बताइन। छ महिनादेखि तलब नपाउँदा कर्मचारी र स्वास्थ्यकर्मीको घरव्यवहार चलाउन कठिनाइ भएको र अब आवश्यक कार्य अघि बढाउन तत्काल तलब निकासा आवश्यक भएको उनीहरूले बताएका छन्।