पौष २ काठमाडौं ___ नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि चलिरहेको मतदान प्रक्रिया ढिलो भएको छ । बुधवार बिहान सवा ९ बजेबाट शुरू भएको मतदान अपराह्न ४ बजे पुग्दा बल्ल एकतिहाइ प्रतिनिधिले मत हालेका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले ४ बजेसम्म ७ सय हाराहारी मत खसेको जानकारी दिए ।

एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि छन् । एक जनाका लागि मत हाल्न औसत ३५ मिनेट समय लागेको निर्वाचन आयोगका अर्का एक पदाधिकारीले बताए । ‘यही गतिमा मतदान हुँदा रातभरिमा पनि टुंगिन मुस्किल छ, अरू १० घण्टा समय लाग्ने देखियो,’ आयोगका एक पदाधिकारीले भने । १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीका लागि निर्वाचन भएको हो । मंसिर २८ गते शनिबार शुरू भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयन गरेर समापन हुनेछ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।