मङ्सिर २६ काठमाडौं ___ अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । राष्ट्रपति कार्यालयमा चार जना नवनियुक्त मन्त्रीको नाम पेस भएसँगै आजै अपराह्न शपथग्रहण कार्यक्रम राखिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार, चार जना नवनियुक्त मन्त्रीहरू विभिन्न पृष्ठभूमिका छन् ।

डा कुमार इङनाम काठमाडौं स्कूल अफ लका प्रोफेसर हुन् । शासकीय मामिलाका जानकार इङनामलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी भूमि व्यवस्थामन्त्री बन्न लागेका हुन् । जुम्ला घर भएका माधव चौलागाईं ‘कुडा कर्णाली’ महोत्सवमा सक्रिय व्यक्ति हुन् । पछिल्लो समय उनको ‘जुरुक्क उठ्छ कर्णाली’ गीत निकै चर्चित बनेको थियो । चौलागाईंले वन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्व एआईजी हुन् । भण्डारी सुरक्षा मामिलाका जानकार व्यक्ति मानिन्छन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्ने भएका छन् ।श्रद्धा श्रेष्ठ ‘दिगो पर्यटन परियोजना’मा कार्यरत श्रेष्ठ पर्यटन बोर्डमा वरिष्ठ व्यवस्थापकको रूपमा काम गरिरहेकी थिइन् । बोर्डको जागिर छोडेर उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न लागेकी हुन् ।

अन्तरिम सरकार प्रमुख कार्कीको चौथो मन्त्रिपरिषद् विस्तार हो । मन्त्रीमा सिफारिस भएका यी व्यक्तिहरुको कार्यकाल पुग–नपुग ३ महिनाको मात्र रहनेछ । अब कार्की मन्त्रिपरिषद् १४ सदस्यीय हुनेछ ।