मङ्सिर १८  काठमाडौँ____ अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीका लागि बाटो खुलेको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया-आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो । हाल नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै सयसँगै ठूला दरका भारु चलाउन पनि पाइने भएको हो । तर, उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र (निर्देशन) जारी गर्नुपर्नेछ । किनकि राष्ट्र बैंकको निर्देशनकै कारण हाल एक सयभन्दा ठूला दरका भारु चलनचल्तीमा छैनन् । यसकारण राष्ट्र बैंकले परिपत्र जारी गरेपछि मात्र नागरिकले ठूला दरका भारु चलनचल्तीमा ल्याउन पाउनेछन् ।

हाल भारतमा ठूला दरका १ सय, २ सय र २ हजार दरका नोट चलनचल्तीमा छन् । तर, सन् २०२३ देखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ । यसकारण आरबीआईले गरेको नयाँ व्यवस्थाले २ सय र ५ सय दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो । सन् २०१६ मा भारतले ५ सय र १०० दरका नोट चलनचल्तीबाट हटाएपछि नेपालमा भएका ती दरका नोट अझै साटिएका छैनन् । यसकारण राष्ट्र बैंकले ठूला दरका भारु चलनचल्तीमा नल्याउने (सटही नगर्ने) निर्देशन जारी गरेको थियो । अहिले भारतले भारतले भारु २५ हजारसम्म नेपाल र भुटान ल्याउन/लैजान (आयातरनिर्यात) अनुमति दिएको हो । यसअघि भारु २५ हजारसम्म भारतबाट ल्याउन अनुमति भए पनि लैजान पाउने व्यवस्था थिएन ।

भारतमा अहिले रु २००० दरका नोटसम्म चलनचल्तीमा ल्याएको छ, तर नेपालमा चलनचल्तीको अनुमति थिएन । अब भने सबै प्रकारका नोटको चलनचल्तीको अनुमति प्राप्त भएको हो । नेपालबाहेक यो सुविधा भुटानलाई पनि दिएको हो। केही समयअघि भारतीय रिजर्भ बैंकले मौद्रिक नीतिमा संशोधन गर्दै नेपाली व्यवसायीहरुलाई भारतीय बैंकमार्फत् ऋण दिने बाटो खुला गरेको थियो । आफ्नो मुद्राको प्रभाव बढाउन भारतले अहिले अर्को कदम लिएको हो ।

यद्यपि भारतीय पर्यटकले नेपालमा आउँदा २५ हजार रुपैयाँ भारुसम्म मात्रै बोक्न पाउने सीमालाई भने यथावत नै राखिएको छ । तर ठूला नोट बोक्न पाउँदा भुक्तानी तथा कारोबार सहज हुने अपेक्षा गरिएको हो । त्यस्तै भारतमा काम गरेर फर्किने नेपालीलाई पनि ठूला नोट ल्याउन र नेपालमा आएर साट्न सकिने बाटो खुला हुनेछ । पाकिस्तान र बंगलादेशका नागरिकले भने नेपाल आउँदा यो दरका नोट लिएर आउन पाउँदैनन् ।