मङ्सिर १८ काठमाडौँ___  एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुन्डुमा निवास निर्माणका लागि शिलान्यास भएको छ । ओली पत्नी राधिका शाक्यले ‘ओली कुटी’ निर्माणका लागि बिहीबार शिलान्यास गरेकी छन् । भदौ २४ मा बालकोटस्थित निवास आगजनी र तोडफोड भएको थियो । जेन-जी आन्दोलनका कारण सरकार विस्थापित भएपछि ओली गुन्डु बस्दै आएका छन् । ओली कुटी निर्माणका लागि नेता महेश बस्नेतले अगुवाइ गरेका छन् ।

ओली कुटीका लागि गुन्डुवासीको तर्फबाट जग्गा व्यवस्थापन भएको छ,’ बस्नेतले भने, ‘अध्यक्ष निवास चन्दा नउठाई भक्तपुरबासीको तर्फबाट निर्माण हुनेछ ।’ उनले १ वर्षभित्र निवास बनाउने लक्ष्य भएको बताए । ‘कसरी बनाउने भनेर सल्लाह गर्दैछौं’ उनले भने, ‘आवश्यक बजेटबारे कुराकानी हुँदैछ ।’ बालकोटस्थित ओली निवास ट्रस्ट बनाई राज्यलाई सुम्पिसकेकाले बनाउने/नबनाउने जिम्मा उसकै भएको उनको भनाइ छ ।

एमाले नेता तथा कार्यकर्ताद्वारा उक्त निवासलाई ओली कुटीको नाम दिइएको छ । गत भदौको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले अध्यक्ष ओलीको बालकोटस्थित निजी निवासमा आगजनी गरेर ध्वस्त बनाएका थिए । त्यसपछि अध्यक्ष ओली बस्दै आउनुभएको गुण्डु परिसरमा सो निजी निवास बनाउन लागिएको हो । नेता बस्नेतका अनुसार सो निवास गुण्डुबासीको सहयोगमा निर्माण गर्न लागिएको हो । नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ । नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ ।