फागुन २६ वीरगंज ___ भारतकाे महावाणिज्य दूतावास,वीरगंज द्वारा महावाणिज्य दूतावास परिसर भित्र एक भव्य समारोहका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२६ मनाइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को विषय “Give To Gain” रहेकाे थियो, जसले महिला सशक्तिकरण र समाजमा वहाँहरूको योगदानको महत्त्वलाई जोड दिएको छ ।

कार्यक्रममा प्रख्यात सामाजिक अभियन्ता र शिक्षाविद्हरू लगायत विशिष्ट वक्ताहरूले दुवै देशका महिलाहरूले सामना गरेका उपलब्धि र चुनौतीहरू माथि प्रकाश पार्दै आफ्ना अन्तर्दृष्टि र अनुभवहरू साझा गर्नु भएको थियो । कार्यक्रममा ज्ञानदा एकेडमी, वीरगंज र शारदा कला केन्द्र रक्सौलका विद्यार्थीहरूले नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा झल्किने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरेका थिए।

सो कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीनाले आफ्नाे सम्बाेधनमा अन्तर्राष्ट्रिय महिला दिवसको महत्वमाथि जोड दिँनुभयाे र महिलाहरूले आफ्नो दैनिक जीवनमा र आफ्नो देशको विकासमा गरेको अमूल्य योगदानको प्रशंसा गर्नुभयाे। वहाँले, महिला सशक्तिकरणले साझा समृद्धि ल्याउँछ र सम्पूर्ण समुदायलाई फाइदा पुर्‍याउँछ भन्ने कुरामा जोड दिनु भएको थियो । सो कार्यक्रमको उद्देश्य लैङ्गिक समानतालाई प्रवर्द्धन गर्नु, महिलाहरुको उपलब्धि चिन्नु र थप समावेशी र समतामूलक समाज सिर्जना गर्न सामूहिक कार्यलाई प्रोत्साहित गर्नु रहेको थियो।