पर्सा ९ मंसिर,पर्साको सीमावर्ती क्षेत्र भिस्वा नाकामा दैनिक उपभोगका सामान्य घरायसी सामान ल्याउने सर्वसाधारणले समेत सास्ती खेप्नुपरेको गुनासो बढेपछि सरकारको भन्सार तथा कर नीतिमाथि प्रश्न उठ्न थालेको छ।
दिनभरि खेतबारीमा पसिना बगाएर कमाएको पैसाले घरका लागि आवश्यक सामान खरिद गर्न सीमावर्ती बजार पुग्ने गरिब तथा मजदुर वर्गका नागरिकले सामान ल्याउने क्रममा रोकतोक र जफतको समस्या भोग्नुपरेको गुनासो गरेका छन्।
सर्वसाधारणका अनुसार आधा किलो धनियाँ, आधा किलो खुर्सानी, आधा किलो बेसार र तीन किलो मैदाजस्ता सामान्य घरायसी उपभोगका सामान ल्याउँदासमेत समस्या हुने गरेको छ। थोरै परिमाणका सामान ल्याउने नागरिकलाई समेत भन्सार प्रक्रियाको झन्झटमा पार्दा दैनिक जीवनयापनमा कठिनाइ भएको उनीहरूको भनाइ छ।
स्थानीयको प्रश्न छ, आधा किलो धनियाँ, खुर्सानी र बेसार तथा तीन किलो मैदामा कति भन्सार महसुल लाग्छ? सामान्य घरायसी सामान ल्याउँदा समेत नागरिकले दुःख पाउनुपर्ने अवस्था किन सिर्जना भइरहेको छ।

उनीहरूका अनुसार भन्सार प्रक्रिया पूरा गर्न वीरगञ्जसम्म करिब ३५ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ। आउजाउको भाडा मात्रै करिब ३०० रुपैयाँ लाग्ने र एक दिनको मजदुरीसमेत जोड्दा कम्तीमा ६०० रुपैयाँभन्दा बढी खर्च हुने अवस्था छ। यस्तो अवस्थामा केही सय रुपैयाँका सामान छुटाउन थप समय र पैसा खर्च गर्नु सर्वसाधारणका लागि आर्थिक रूपमा कठिन हुने गरेको छ।
धान कटनीपछि घरायसी आवश्यकताका सामान खरिद गर्न बजार पुगेका कतिपय सर्वसाधारण निराश हुँदै खाली हात घर फर्किनुपरेको गुनासोसमेत सुनिएको छ। दिनभरि श्रम गरेर कमाएको थोरै रकमबाट परिवारका लागि आवश्यक सामग्री जुटाउन खोज्दा पनि समस्या भोग्नुपरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन।
यस विषयमा स्थानीयले गृहमन्त्री सुदन गुरुङ तथा सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदै सीमावर्ती क्षेत्रका सर्वसाधारणको वास्तविक समस्या बुझ्न आग्रह गरेका छन्। कानुनको पालना गराउनु राज्यको जिम्मेवारी भए पनि दैनिक उपभोगका सामान्य सामान खरिद गर्ने गरिब नागरिकलाई अनावश्यक दुःख दिन नहुने उनीहरूको माग छ।

स्थानीयवासीले भन्सार नियमलाई व्यवस्थित र व्यवहारिक बनाउन, व्यक्तिगत घरायसी प्रयोजनका लागि ल्याइने न्यून परिमाणका सामानमा स्पष्ट व्यवस्था गर्न तथा सीमावर्ती क्षेत्रका नागरिकलाई सहज आवागमनको वातावरण बनाउन सरकारसँग माग गरेका छन।
राजस्व संकलन राज्य सञ्चालनका लागि आवश्यक भए पनि त्यसको कार्यान्वयन गर्दा गरिब, किसान र मजदुर वर्गको आर्थिक अवस्थालाई समेत ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ।
अन्ततः सरकार जनतालाई सहजता दिनका लागि हो कि दैनिक उपभोगका सामान्य सामान ल्याउँदासमेत सास्ती दिने गरी नियम लागू गर्नका लागि? भिस्वा नाकाको यो गुनासोले सम्बन्धित निकायसमक्ष गम्भीर प्रश्न खडा गरेको छ।