पर्सा, ३ कात्तिक पर्साको छिपहरमाई गाउँपालिका–स्थित बञ्जारीमा रहेको प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल छिपहरमाई मन्दिरमा विजयादशमीको अवसरमा भव्य मेला लागेको छ। दसैँको मुख्य दिन विजयादशमीमा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आएका छन्।

छिपहरमाई मन्दिरमा प्रत्येक वर्ष दुई पटक मेला लाग्ने परम्परा रहेको छ। विशेषगरी चैतनवमी र विजयादशमीको अवसरमा यहाँ ठूलो सङ्ख्यामा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ। विजयादशमीका दिन लाग्ने दसहरा मेलामा नेपालका पर्सा, बारा, रौतहटलगायत जिल्लाका साथै भारतको सिकटा, मैनाटाड, बेतिया, नरकटियागञ्ज, रामनगर, बगहा, रक्सौल, मोतिहारी र लौरियालगायत स्थानबाट भक्तजनहरू आउने गरेका छन्।
मन्दिरमा आएका श्रद्धालुहरूले माता छिपहरमाईको जयजयकार गर्दै विधिपूर्वक पूजापाठ गर्ने, चुनरी, प्रसाद, नरिवल तथा कराही चढाउने गरेका छन्। धार्मिक आस्थाका कारण यहाँ राँगा, बोका तथा परेवालगायतको बलि दिने परम्परासमेत रहेको छ।

स्थानीय जनविश्वासअनुसार छिपहरमाईलाई जागृत शक्तिपीठका रूपमा लिइन्छ। भक्तजनहरूले आफ्नो मनोकामना पूरा होस् भनी मातासँग भाकल गर्ने र मनोकामना पूरा भएपछि भाकलअनुसार पूजाआजा तथा धार्मिक अनुष्ठान गर्ने गर्दछन्। मनोकामना पूरा भएपछि कतिपय भक्तजनहरूले मन्दिरमा अखण्ड अष्टयामसमेत गराउने गरेका छन्।

अखण्ड अष्टयाम गराउनका लागि पहिले नै समय लिनुपर्ने व्यवस्था रहेकाले यसपटक तीन जना भक्तजनले अखण्ड अष्टयाम गराएको जानकारी दिइएको छ। त्यस्तै, भाकल पूरा भएपछि महिला भक्तजनहरूले आफ्नो आँचलमा नेटुवाको नाच नचाउने परम्परासमेत यहाँ प्रचलित छ।
चैतनवमी तथा विजयादशमीको अवसरमा सप्तमीका दिन पुजारीहरूले देवीदेवताको आह्वान गरी विभिन्न समस्या समाधानका लागि धार्मिक विधि अपनाउने परम्परा रहेको स्थानीयवासीहरू बताउँछन्।

छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताका अनुसार यस मन्दिरमा लाग्ने मेला कसैले औपचारिक रूपमा आयोजना नगरे पनि धार्मिक आस्था र परम्पराका कारण स्वतः लाग्ने गरेको छ।
अध्यक्ष गुप्ताले भने, “यहाँ हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्छन्। भक्तजनहरूको माता छिपहरमाईप्रति गहिरो आस्था छ। आफ्नो मनोकामना पूरा भएपछि उनीहरू माताको स्थानमा आएर पूजापाठ गर्ने गर्छन्।

विजयादशमीको अवसरमा लागेको मेलालाई व्यवस्थित तथा सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गाउँपालिका प्रहरी र स्थानीय स्वयंसेवकहरू परिचालन गरिएको थियो। सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको उपस्थितिमा भक्तजनहरूले सहज रूपमा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका थिए।