पर्सा, २ कात्तिक पर्साको जगरनाथपुर गाउँपालिका–६, प्रसौनी गाउँको दक्षिणपट्टि गण्डक नहरको छेउमा रहेको चिया पसलका सञ्चालक गोरख राउत कुर्मीलाई समाजसेवी बिजेश्वरप्रसाद चौधरीले ७ थान कुर्सी सहयोग गरेका छन्।
चिया पसलमा दिनप्रतिदिन चिया पिउन आउने ग्राहकको भीड बढ्दै गए पनि पर्याप्त कुर्सीको अभावमा ग्राहकलाई बस्न समस्या हुँदै आएको थियो। उक्त समस्यालाई ध्यानमा राख्दै ग्राहकलाई सहज रूपमा बस्ने व्यवस्था मिलाउन स्थानीयवासीले समाजसेवी चौधरीसँग कुर्सी सहयोग गरिदिन आग्रह गरेका थिए।

स्थानीयवासीको आग्रहलाई सकारात्मक रूपमा लिँदै चौधरीले आफ्नो तर्फबाट ७ थान कुर्सी उपलब्ध गराएका हुन्। कुर्सी सहयोग प्राप्त भएपछि चिया पसलमा आउने ग्राहकलाई बस्न सहज भएको छ भने पसल सञ्चालकलाई समेत राहत मिलेको छ।

सानो सहयोग, सकारात्मक सन्देश
समाजसेवी चौधरीको यस सहयोगले स्थानीयस्तरमा आपसी सद्भाव, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न मद्दत पुगेको स्थानीयवासीले बताएका छन्। स्थानीय व्यवसायीको समस्या बुझेर गरिएको यस्तो सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहयोगी भावनालाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
स्थानीयस्तरमा सानो सहयोगले पनि सर्वसाधारणको दैनिक जीवनमा सहजता ल्याउन सक्ने उदाहरणका रूपमा यस कार्यलाई हेरिएको छ।