पर्सा २४ असोज । पर्साको धोबीनी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा, प्राथमिकता निर्धारण तथा कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। कार्यशालासँगै सामुदायिक सिकाइ केन्द्र (CLC) को सुदृढीकरण, प्रभावकारी सञ्चालन तथा विकासका लागि स्थानीय तहसँग पैरवी र समन्वय गर्ने विषयमा समेत छलफल गरिएको छ।

धोबीनी गाउँपालिकाको आयोजनामा वडा नं. ४ स्थित गाउँपालिका भवनमा आयोजित कार्यशालामा स्थानीय शिक्षा योजनाको वर्तमान अवस्था, शिक्षाक्षेत्रका समस्या, सुधारका प्राथमिकता तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो। साथै, सामुदायिक सिकाइ केन्द्रहरूलाई स्थानीय शिक्षा प्रणालीसँग जोड्दै तिनको प्रभावकारिता बढाउन आवश्यक पहल गर्ने विषयमा जोड दिइएको थियो।
कार्यशालामा शिक्षाको गुणस्तर सुधार, विद्यालयको शैक्षिक वातावरण सुदृढीकरण, स्थानीय आवश्यकताअनुसार शिक्षा योजना निर्माण तथा आगामी कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा विचारविमर्श भएको थियो। स्थानीय तहको शिक्षा विकासका लागि सरोकारवाला निकायबीच सहकार्य, समन्वय र साझा प्रतिबद्धता आवश्यक रहेको विषयसमेत उठाइएको थियो।

त्यसैगरी, सामुदायिक सिकाइ केन्द्र (CLC) मार्फत समुदायमा सिकाइका अवसर विस्तार गर्ने, जीवनोपयोगी सीप विकास गर्ने तथा शिक्षाको पहुँचबाट टाढा रहेका समुदायलाई सिकाइ प्रक्रियामा जोड्ने विषयमा छलफल गरिएको थियो। CLC हरूको दिगोपन र प्रभावकारी सञ्चालनका लागि स्थानीय सरकारसँग निरन्तर पैरवी तथा समन्वय गर्दै आवश्यक सहयोग, स्रोतसाधन र कार्यक्रमका लागि पहल गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरू अबास मिया, राजकिशोर प्रसाद कुर्मी, मनाउर अहमद र देवेन्द्र प्रसाद कुर्मी, बन्दु साद तेलि तथा गाउँपालिका उपाध्यक्षका प्रतिनिधि श्याम प्रसाद कुर्मीको सहभागिता रहेको थियो। त्यसैगरी, शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको पनि उपस्थिति रहेको थियो।
यसैगरी, SODCC पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेय, साझेदार संस्थाका अमरेश यादव, दिपेश पटेल, अकलेश साह, विशाल गुप्ता, गोविन्द पटेल, निरज पटेल, मुना पटेललगायतको सहभागिता रहेको थियो।

कार्यशालाले स्थानीय शिक्षा योजनाका प्राथमिकता पहिचान गरी कार्ययोजना निर्माण गर्न तथा सामुदायिक सिकाइ केन्द्रहरूको सुदृढीकरणका लागि स्थानीय तह र सम्बन्धित सरोकारवालाबीच सहकार्यको आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय शिक्षा क्षेत्रको सुधार र समुदायमा सिकाइका अवसर विस्तार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।