पर्सा २३ असोज धोबीनी गाउँपालिका–४, लंगडीस्थित पर्सा रिसोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँदै छौँ’ कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

धोबीनी गाउँपालिका सभापति सुदिल पटेल र उपसभापति राजु पटेलको सभापतित्व तथा रास्वपाका केन्द्रीय प्रतिनिधिद्वय माननीय प्रमोद कुमार महतो र माननीय अमर कान्त चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा रास्वपाका जिल्ला प्रतिनिधि, क्षेत्रीय सभापति, पालिका तथा वडा समितिका पदाधिकारी, स्थानीय नेता, कार्यकर्ता र पार्टीप्रति आस्था राख्ने ‘घण्टी मित्र’हरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको संगठन विस्तार, स्थानीय तहमा जनसम्पर्क वृद्धि तथा आगामी राजनीतिक गतिविधिबारे छलफल गरिएको थियो।

रास्वपाका युवा नेता तथा धोबीनी गाउँपालिका-२ को वडा सभापति चन्दरिका पटेलका अनुसार कार्यक्रममा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रलगायत स्थानीय नेता सुरेश प्रसाद कुर्मी, सन्तोष पटेल, निरज पटेल, ललन पटेल, कालिकामाईका जोगिन्द्र चौरसिया, राजनिश कुशवाहा, लालबाबु राउत बरैइ अन्य अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।स्थानीय स्तरमा पार्टीप्रति चासो राख्ने नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको पटेलले जानकारी दिए।

‘हामी आउँदै छौँ’ कार्यक्रममार्फत रास्वपाले स्थानीय तहमा संगठनलाई थप सक्रिय बनाउने, नेता तथा कार्यकर्ताबीच आपसी समन्वय मजबुत पार्ने तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद र सम्पर्क विस्तार गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा पार्टीका गतिविधिलाई गाउँपालिकाका विभिन्न वडासम्म विस्तार गर्दै संगठनलाई थप व्यवस्थित र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।कार्यक्रमले धोबीनी गाउँपालिकामा रास्वपाको सांगठनिक गतिविधिलाई थप गति दिनुका साथै स्थानीय स्तरमा पार्टीको उपस्थिति विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।