वैशाख २२ एजेन्सी _ भारतको तमिलनाडु विधानसभा चुनावमा सुपरस्टार थलापति विजयको पार्टी TVK ले केही यस्तो उपलब्धि हासिल गर्‍यो, जुन देशभरि चर्चाको विषय बनेको छ । TVK का उम्मेदवारहरूले अन्य पार्टीका धेरै हेभिवेट नेतालाई पराजित गरे र राज्यको सबैभन्दा ठूलो पार्टी बनेको छ ।

यसैबीच केही उम्मेदवार छन्, जो गरिबीबाट उठेर सरकार चलाउन तयार भएका छन् । यी मध्ये एक हुन् – विजयका ड्राइभरका छोरा आर. सबरीनाथन, जसले अब तमिलनाडु विधानसभामा सेवा गर्नेछन् । विजयका ड्राइभर राजेन्द्रनका छोरा सबरीनाथनले विरुगमबक्कम विधानसभा सिटमा २७ हजार ०८६ मतको ठूलो अन्तरले सत्तारुढ डीएमकेका वर्तमान विधायक एएमभी प्रभाकर राजालाई पराजित गर्दै भारी जित हासिल गरेका हुन् । सबरीनाथनका बुवा विगत ३० वर्षदेखि अभिनेता विजयको कार चलाउँछन् ।

माईनेटाका अनुसार सबरीनाथनले सन् २०२१ मा डा. एमजीआर शैक्षिक तथा अनुसन्धान संस्थानबाट मेकानिकल इन्जिनियरिङमा डिग्री प्राप्त गरेका छन् । उनले मेकानिकल इन्जिनियरिङमा डिप्लोमा पनि गरेका छन् । शबरीनाथनले सन् २०१३ मा वेद विकास म्याट्रिकुलेशनबाट १२ कक्षा पूरा गरेका थिए । TVK ले २३४ सिट भएको विधानसभामा १०८ सिट जितेर मुख्य विपक्षी दलहरूलाई चकित पारेको छ । विजय आफैंले पेराम्बुर निर्वाचन क्षेत्र ५३,००० भन्दा बढी मतको अन्तरले जितेका थिए । विजयको “ब्लकबस्टर” डेब्यूको हाल व्यापक रूपमा चर्चा भइरहेको छ ।