वैशाख ८ काठमाडौँ _____ इजरायल-अमेरिका र इरानबीचको युद्धको असर नेपालको वैदेशिक व्यापारमा पनि देखिएको छ । भारत र चीनसँग तुलनात्मक रूपमा बढी व्यापार भए पनि करिब १५७ देशसँग नेपालको वैदेशिक व्यापार छ । भन्सार विभागको तथ्यांकअनुसार, पश्चिम एसियामा जारी तनावका कारण आपूर्ति शृंखला प्रभावित हुँदा पछिल्लो एक महिनामा ४७ वटा देशबाट आयात नै हुन सकेन (शून्य आयात भयो) । फागुनदेखि चैतसम्मको तथ्यांकमा एक महिनामा ८७ वटा देशमा निर्यात पनि ठप्प छ ।

हाल नेपालमा सामान आयात हुने देशको सूचीमा दुई नयाँ मुलुक थपिएर १५७ पुगेको छ । चैतमा बुरुन्डीबाट ९ लाख ७६ हजार रुपैयाँ र सियरालियोनबाट १ लाख ५२ हजार रुपैयाँको आयात भएको छ । यी देशबाट भएको आयात निकै न्यून रहेको विभागका सूचना अधिकारी किशोर बर्तौला बताउँछन् । आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा आयात १३.८२ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख रुपैयाँको बस्तु आयात भएको थियो ।

यो अवधिमा नेपालको निर्यात व्यापार गत वर्षको तुलनामा १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निर्यात १ खर्ब ८८ अर्ब १९ करोड ५० लाखमा सीमित थियो । जसअनुसार नेपालको व्यापार घटा १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले बढेर १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

यी देशबाट भएन आयात

चैतमा शून्य आयात भएका मुलुकहरूमा इरान, इराक, जमैका, लेबनान, मादागास्कर, माली, मोजाम्बिक, नाउरु, नाएजर, पनामा, पपुवा न्यू गिनी, माल्डोभ, रुवाण्डा, सेनेगल, सर्बिया, सर्बिया (युरोप), सेशेल्स, सोमालिया, सुरिनाम, सिरियाली अरब गणतन्त्र, पूर्व युगोस्लाभ रिप म्यासेडोनिया, टोकेलाउ, टर्क्स र काइकोस टापुहरू हुन् । यस्तै, उरुग्वे, भेनेजुएला, यमन, जिम्बाब्बे, तुर्कमेनिस्तान, तान्जानिया, जर्जिया, अमेरिकी सामोआबाट गत महिना (चैत) मा आयात नै भएन । यसैगरी, अंगोला, एन्टिगुवा र बारबुडा, बहामास, बार्बाडोस, बेलारुस, क्यामरुन, केप भर्डे, केम्यान टापुहरू, मध्य अफ्रिकी, कोलम्बिया, कंगो, इक्वेडर, फिजी, ग्वाटेमाला, होन्डुरसलगायत मुलुकबाट नेपालमा आयात भएन । किर्गिस्तान र उज्वेकिस्तानसँग भने १ लाखभन्दा कमको व्यापार भएको छ ।

अझ पश्चिम एसियाको समस्याले गर्दा तेलको मूल्यमा वृद्धि हुनु, ढुवानीका बाटोहरू अवरुद्ध वा घुमाउरो हुँदा लागत खर्च बढेको भन्सार विभागका सूचना अधिकारी बर्तौला बताउँछन् । “इन्धनको मूल्य बढ्ने बित्तिकै ढुवानी भाडा बढ्ने र त्यसले वस्तुको मूल्य पनि बढाउने हुन्छ । जसले गर्दा बढेकै मूल्यमा भन्सार कर पनि बढ्छ,” उनले भने । भन्सार महसुल वस्तुको मूल्यका आधारमा लाग्ने भएकाले मूल्य बढेसँगै व्यवसायीहरूले थप भन्सार र भ्याट तिर्नुपर्ने हुन्छ । अन्ततः मुल्यवृद्धिको भार आम उपभोक्तालाई पर्छ । यसले महँगी बढ्ने र व्यवसायीहरूलाई थप आर्थिक भार परेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल बताउँछन् । नेपालको मुख्य निर्यात भारतसँग केन्द्रित रहेकाले निर्यातमा भने ठूलो  असर परिनसकेको सूचना अधिकारी बर्तौला बताउँछन् । गत वर्षको तुलनामा समग्र निर्यात केही बढेको देखिए पनि हवाई मार्गबाट युरोपियन देशहरूमा पठाइने सामग्रीहरूमा भने सामान्य प्रभाव परेको छ ।

भारत र चीनसँगको व्यापार

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारत हो । चैतसम्म कुल आयातको ५६.८३ प्रतिशत भारतबाट आयात भएको छ । चालु आवको नौ महिनासम्ममा नेपालले भारतबाट ८ खर्ब ४७ अर्ब बराबरको वस्तु आयात गर्दा १ खर्ब ८३ अर्ब हाराहारीमा निर्यात भएको छ । उत्तरी छिमेकी चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो । चालु आवको चैतसम्म चीनबाट तीन खर्ब ७१ करोड रुपैयाँ बराबरको आयात हुँदा १ अर्ब १९ करोड ८९ लाखको निर्यात भएको छ । नेपालको कुल आयातमा चीनको हिस्सा २०.१८ प्रतिशत र निर्यातको हिस्सा ०.५४ प्रतिशत छ ।